सञ्चारमन्त्री गुरुङद्धारा सरकारी कामकाजलाई प्रभावकारी बनाउन ‘नागरिक एप’ सार्वजनिक

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’ सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सो एप सार्वजनिक गर्नुहुँदै सरकारी कामकाजलाई प्रभावकारी बनाउन र त्यसको अनुगमन सहजका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

सरकारको तर्फबाट नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सो एप तयार गरिएको मन्त्री गुरुङले बताउनुभयो । सरकारी सरकारको काम नागरिकको हातहातमा पु¥याउन नागरिक एप आजैबाट परीक्षणका लागि सार्वजनिक गर्दछुँ, उहाँले भन्नुभयो, “सरकारले शुरु गरेको सेवाहरुको लाभ लिन पनि म सबैमा आग्रह गर्दछुँ ।”

सरकारको कामलाई एकीकृतरुपमा प्रदान गर्न एप बनाइएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “नेपाललाई स्मार्ट नेपाल बनाउने सरकारको लक्ष्यअनुसार एप बनाइएको हो, समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नमा यसले सहयोग गर्नेछ, त्यो लक्ष्यको यो एउटा सुरुवात हो ।” करिब तीन महिनाभित्र सबै सेवाहरु डिजिटलाइज्ड रुपमा सुचारु गर्न सरकारले प्रयास गरिरहेको उहाँले बताउनुभयो । डिजिटल डेको रुपमा पनि आगामी दिनमा यस दिनलाई स्मरण गरिने मन्त्री गुरुङले बताउनुभयो ।

“लाइन होइन, अनलाइनबाट २४ घण्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप” सार्वजनिक गरिएको मन्त्री गुरुङले बताउनुभयो । नागरिक एपबाट प्यान नम्बर प्राप्त गर्न सकिने, एपबाटै डिजिटल सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । सरकारका सबै सेवालाई एकीकृततहमा डिजिटलाइज्ड गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मोबाइलसेट मार्फत कर तिरेको विवरण, नागरिकता, राहदानी, मतदाता परीचयपत्र, नागरिक लगानीकोष, सञ्चयकोषको जम्मा भएको रकम र ऋणबारे जानकारी लिन सकिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार २०:५८