सूर्यविनायक–साँगा सडक खण्डको विस्तार कार्य शुरु, पलाँसेसम्म ६ लेन र पलाँसेदेखी साँगासम्म ४ लेनको बन्ने

भक्तपुर : सूर्यविनायक-साँगा सडक खण्डको विस्तार कार्य शुरु भएको छ । सूर्यविनायक– धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना अन्र्तगत सूर्यविनायक– साँगा सडक खण्डको बिस्तारको कार्य औपचारिक रुपमा शूरु भएको हो ।

बिहिवार भक्तपुर क्षेत्र नंं २ का सांसद दुलर्भ थापाले सो सडक खण्डको शुभारम्भ गर्नु भयो । सो अवसरमा बोल्नुहुँदै सांसद थापाले गुणस्तरीय काम गर्दै निर्माण कार्य सममयै सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले समयमा सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघीय संसदका जनप्रतिनिधिहरुबीच सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सडक निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो सडक निर्माणमा अनुशासित, मेहनत र लगनशिलताका साथ सम्झौतामा उल्लेख भए अनुसार काम गरे कुनै वाधा अवरोध नआउने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद किरण थापा, आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दास, निर्माण कम्पनीका प्रमुख मुकेश पन्त, ईन्जिनियर सि एन यादव, सूर्यविनायक नगरपालिकाका ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं. ९ का वडाध्यक्ष भगवान खत्री, वडा नंं. १० का वडाध्यक्ष शिवराम रावत, भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँलगायतको लगायत जनप्रतिनिधिको सहभागितामा निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

२०७९ पुसमा ठेक्का सम्झौता भएको यो सडकको निर्माण अवधी ३ वर्षको हुनेछ । सूर्यविनायक-साँगा खण्डको ७ दशमलव ५ किलोमिटर सडक मध्ये पलाँसेसम्म ६ लेन र पलाँसेदेखी साँगा खण्ड ४ लेनको हुने जनाइएको छ । बर्दिबाससम्म सडक विस्तारको लागि गत वर्ष रू ४ अर्ब बजेट विनियोजन गरिएको थियो ।


प्रकाशित | १६ चैत्र २०७९, बिहीबार १६:०७