म कुनै कमिटिमा नरहँदा पनि सबै समेटिने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ: सुनील साह

काठमाडौ: गैर आवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष सुनील साहले एनआरएनएमा कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान भएकाले अभियानलाई अगाडि बढाउन सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए संस्था भएकाले अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउन नहुने साहको भनाई छ ।

‘म आफू अभियानमा बढी विश्वास गर्छु , पद भन्दा धेरैं माथि अभियान छ, यो अभियानलाई कमजोर हुन नदिन हामी सबै एकत्रित ढंगबाट अघि बढ्नुपर्छ । हाम्रा गतिविधि साझा र एकताबद्द ढंगबाट हुनुपर्छ’, साहले एक विज्ञप्ति जारी गर्दै भन्नु भएको छ, ‘यही पक्षलाई जोड दिदैं मैले मेरो भूमिका र उपस्थितिलाई अगाडि लैजाने निर्णय लिएको छु । सबै समेटिने र सबै अट्ने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ ।’

गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो घटनाक्रमबारे टिप्पणी गर्नुहुँदै साहले एनआरएनए संस्था केवल कुनैं संघ मात्र नभएर अभियान भएकाले मतले मात्र अभियानमा लागिरहने बल पुग्ने वा रोक्ने भन्ने नहुने बताउनुभयो ।

साहको भनाई जस्ताको तस्तै :-

आम गैर आवासीय नेपाली संघको ११ औं सम्मेलनमा मेरो उपाध्यक्ष पदको उम्मेद्वारीलाई साथ, समर्थन र सहयोग स्वरुप सम्मेलन स्थलमा भौतिक रुपमा उपस्थित भई मतदान गर्नुहुने र अनलाईन माध्यमवाट मत प्रकट गर्ने सबै प्रतिनिधिहरुप्रति मेरो उच्च सम्मान व्यक्त गर्दैं आफ्नो अमुल्य मत दिनुहुने सबै मतदाता प्रतिनिधिहरुमा हार्दिक आभार व्यक्त गर्दछु । नेपालको काठमाण्डौंमा भएको सम्मेलन स्थलमा आई मेरो उम्मेद्वारीलाई बल प्रदान गर्ने र मतदान अवधिभर स्वयंसेवी रुपमा सहयोग गर्ने सबै सबैमा हार्दिक धन्यवाद छ ।प्रजातान्त्रिक बिधि र पद्दतीमा विश्वास राख्ने मैले स्वच्छ, निष्पक्ष, पारदर्शी र शंकारहित ढंगबाट भएको निर्वाचनमा प्राप्त जनमतलाई सदैव स्वीकार गर्दैं आएको छु । अझ एनआरएनए संस्था केवल कुनैं संघ मात्र नभएर अभियान भएकाले मतले मात्र अभियानमा लागिरहने बल पुग्ने वा रोक्ने भन्ने हुँदैन ।पदमा नरहँदा पनि एनआरएन अभियानमा लाग्दै आएको मैले एनआरएनएलाई एनआरएनको मुद्दा उठाउने साझा थलो र सामाजिक अभियानको रुपमा लिई विभिन्न समयमा एनआरएनए, एनसीसी , युएसए हुँदैं एनआरएनए, आईसीसीमा प्राप्त पदीय जिम्मेवारीलाई न्याय पनि गर्दै आएको छु भन्ने लाग्छ । विषमं परिस्थितिका बिच १० औं सम्मेलनवाट प्राप्त एनआरएनए, आईसिसीको कोषाध्यक्षको जिम्मेवारीलाई पनि मैले चुनौती भन्दा अवसरको रुपमा लिएर कोषाध्यक्षको रुपमा संस्थामा आर्थिक पारदर्शिता र दरिलो आर्थिक अवस्था निर्माणका लागि अन्य २ कोषाध्यक्षसँग मिलेर काम गरे, जुन यहाँहरुलाई थाहा नै छ ।

तत्पश्चात,संघको ११ औं सम्मेलनमा म उपाध्यक्ष पदमा उम्मेद्वार बने, यहाँहरुले मैले चुनावी अभियान थाल्दा देखि नै गर्नुभएको साथ, समर्थन, सहयोग र सद्भावले मलाई अगाडि बढ्न प्रेरणा दियो । तर मत परिणाम घोषणाले मलाई पदमा रहेर योगदान गर्ने अवस्था देखायो, म आफू अभियानमा हिड्दा र तपाईहरुले देखाउनु भएको साथ र सहयोग अनि मेरो आफ्नैं विश्लेषण भन्दा फरक मत आएको मैले अनुभुती गरे र पनि मैले जनमत नैं यी रहेछ भनी यसलाई समान्य रूपमा लिएको थिए । तर बिडम्बना हामी एनआरएन हरूले पारदर्शी र विश्वासिलो तरिकाबाट चुनाव हुनुपर्छ भनेर सन्देश दिनुको साटो त्यस विपरितनिर्वाचन प्रक्रियासँग जोडिएर धेरैं विषयहरु बाहिर आएका छन्, निर्वाचन प्रक्रिया सही ढंगले भएको छैन भनेर शंका गर्ने प्रशस्त ठाउँहरु छन् । त्यसलाई सम्बोधन गर्नु हामी सबैको साझा दायित्व हो ।

निर्वाचन प्रक्रियासँग उठेका तमाम प्रश्नलाई सम्बोधन गरौं, छानविन गरी वस्तु स्थितिलाई बाहिर ल्याऊ भन्ने तर्फ नै मेरो जोड रहेको छ, तर त्यसलाई कुल्चिएर जुन ढंगवाट सम्मेलनलाई अगाडि बढाउने कार्य भयो त्यसको प्रतिक्रियाको रुपमा अर्को समानान्तर समिति बन्न पुगेको यथार्ततालाई सबैले मनन गर्नुपर्दछ ।संस्थाको विकल्प अर्को संस्था होईन भने निषेध वा पेलेर जान खोज्ने प्रवृत्तिले हाम्रो शक्तिलाई क्षयीकरण मात्र गर्छ यस पक्षलाई गम्भिरता पूर्वक लिन र छलफलको माध्यमबाट समस्याको समाधान गर्न म सम्बन्धित सबैमा अपिल गर्दछु ।निर्वाचन प्रक्रियासँग जोडिएर उठेका प्रश्नलाई सम्बोधन गरी सबै एक ठाउँमा उभिएर एनआरएनएलाई संस्थागत हिसाववाट बलियो बनाई अगाडि बढाउन समेत सबैमा आग्रह गर्दछु । हतारिएर वा जवरजस्त ढंगले एकले अर्कोलाई सिध्याउने खेलमा हामी लाग्नु बुद्दिमानी कदम हुन सक्दैन, आफ्ना थप कदमहरू स्थगन गर्दै जुन विन्दुवाट समस्या आएको त्यही विन्दुमा पुगी समाधान खोज्नु हामीको सबैको साझा जिम्मेवारी हो । यसका लागि हामी सबै लचक बनौं ।हामी कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान हो , एनआरएनए संस्था हो ।अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउनु हुँदैन , म आफू अभियानमा बढी विश्वास गर्छु , पद भन्दा धेरैं माथि अभियान छ, यो अभियानलाई कमजोर हुन नदिन हामी सबै एकत्रित ढंगबाट अघि बढ्नुपर्छ । हाम्रा गतिविधि साझा र एकताबद्द ढंगबाट हुनुपर्छ । यही पक्षलाई जोड दिदैं मैले मेरो भूमिका र उपस्थितिलाई अगाडि लैजाने निर्णय लिएको छु । सबै समेटिने र सबै अट्ने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ ।

सबै एनआरएनएका साथीहरुलाई सबै कुरालाई विर्सिएर नयाँ शिरावाट अघि बढ्नका लागि आग्रह गर्दछु । भएको सहमती विपरित सम्मेलनको प्रक्रिया अघि बढाउदा उत्पन्न परिस्थितिका कारण समानान्तर समिति बनेको तथ्यलाई समेत विर्सनुहुँदैन । यसर्थ हामीले अहिले को ठूलो वा सानो भन्ने भन्दा पनि निर्वाचन प्रक्रियासँग जोडिएर आएको विषयलाई छानविन गरी सही सत्य तथ्य बाहिर ल्याएर मात्र गतिबिधि गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु र सँगसँगै समानान्तर समितिलाई पनि धैर्य राख्दैं छलफलको माध्यमबाट उत्पन्न परिस्थितिको निकास खोज्न आग्रह गर्दछु । यसलाई टुंगोमा पुर्‍याउने कार्य नहुँदा सम्म जो कसैले पनि अनावश्यक र संस्थाको हित विपरितका कार्य नगर्न पनि सबैमा अनुरोध गर्दछु । ११ औं सम्मेलन मात्र होईन १०औं सम्मेलनका क्रममा बाहिरिनु भएका अभियन्ताहरूलाई समेत समेटौं । अन्त्यमा, ११ औं सम्मेलन जसरी सफल हुनु पर्थ्यो र हामीलाई प्राप्त जिम्मेवारीमा रहेर प्रतिनिधिहरूसँग हामीले साक्षात्कार गरेर सुझाव लिने अवस्था बन्नुपर्थ्यौं त्यो हुन नसकेपनि कोषाध्यक्षको जिम्मेवारी पूरा गर्ने क्रममा प्राप्त सहयोग प्रति सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।शुभ विजयादशमीको नेपालमा रहनुभएका नेपाली र नेपाल बाहिर रहनुभएका आम गैर आवासीय नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय एनआरएनए ।

भवदीय,
सुनील साह
टेक्सस, अमेरिका


प्रकाशित | १० कार्तिक २०८०, शुक्रबार २०:२१