संयुक्त परिवार जसले कोरोना जिते : सत्र सदस्यमा ११ सङ्क्रमित भयौँ, रातभरमै घर अस्पताल बन्यो

इश्वरचन्द्र झा/ काठमाडौँ

अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे । लक्षणले केही सङ्केत गर्दै थियो । शरीरको तापक्रम बढ्दै गयो । खोकी र कफले आवाज शिथिल हुन थाल्यो ।

गर्गले सुरुमा उक्त लक्षणलाई सिजनल फ्लुको रुपमा अर्थ्याउनुभयो । कोरोनाभाइरसको सङ्क्रमण नहुने सम्झेर उहाँ अस्पताल जानुभएन । उहाँले आफैँभित्र मनोवाद गर्नुहुँदै भन्नुभयो, “सिजनल फ्लुमा परिवारका पाँच सात जना एकै पटक बिरामी हुनु नयाँ हैन ।” केही दिनभित्र परिवारका थप पाँच जना थलिए । त्यसपछि भने परिवारमा बिरामी पर्नेको सङ्ख्या थपिँदा गर्गलाई परीक्षण गराउन बल पुर्यायो । परिवारका १७ जना सदस्यमध्ये ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि हुँदा परिवार नै कोरोनाको ‘क्लष्टर’ भयो ।

“बाहिरका कसैलाई भेटेनौँ, बाहिरका कोही घरभित्र आएन, यद्यपि कोरोनाभाइरस हाम्रो घरमा छिर्यो र एकपछि अर्कोलाई सङ्क्रमित बनायो ।”– गर्गले पछि आफ्नो ब्लगमा उल्लेख गर्नुभएको छ । जसमा सयौँले प्रतिक्रिया दिएका छन् । भारतीय संस्कारमा संयुक्त परिवारिक परम्परा विद्यमान छन् । र कोभिड–१९ को चुनौती सामना गर्न देखिएको विशिष्ट समस्या हो यो ।

भारतमा मार्च २५ मा देशव्यापी लकडाउन गरियो । सार्वजनिक स्थल र सडक सुनसान हुनपुग्यो । भारतमा कुल जनसङ्ख्याको करिब ४० प्रतिशत परिवार अझै सामूहिक र संयुक्त रुपमा बस्दैआएका छन् । एउटै छानामुनि चारभन्दा बढी र तीन पुस्तासम्मका अटाउँछन् । र घर भिडभाड स्थल जस्तै बन्छ । अध्ययनले बाहिरभन्दा धेरै सदस्य भएको घरमा सङ्क्रमणको जोखिम बढी हुने देखाएको छ ।

भाइरसविज्ञ डा। ज्याकब जोनका अनुसार यस्तोमा एकजना बिरामी भएपछि परिवारका अधिकांश सदस्य बिरामी हुने जोखिम बढ्छ । र गर्गको परिवारले सामाजिक दूरी सम्भव नहुने बुझाइमा पुगे । हामी एक्लियौँ

गर्गको परिवार तीन तल्ले घरमा छन् । उत्तरी पश्चिम दिल्लीको भिडभाडयुक्त बस्तीमा उहाँको घर छ । हजूरबुवा र हजूरआमासँगै ३३ वर्षीय गर्ग, ३० वर्षीया उहाँकी श्रीमती, छ र दुई वर्षीय दुई छोराछोरी सबैभन्दा माथिल्लो तल्लामा बस्नुहुन्छ । पहिलो तल्लामा उहाँको काका र परिवार बस्छन् । परिवारमा चार महिने शिशुदेखि ९० वर्षीया वृद्ध हजूरबुवा बस्नुहुन्छ ।

औसतमा अन्य परिवारिक भवन भन्दा गर्गको घरको क्षेत्रफल बढी छ । प्रत्येक सतहको क्षेत्रफल करिब २५० वर्गमिटर छ । तीन सुत्ने कोठा, शौचालय र भान्सा कोठा सबै तल्लामा छन् । यद्यपि भाइरस परिवारका अधिकांश सदस्यमा छिट्टै सर्न पुग्यो । उहाँहरूले ‘पेसेन्ट जिरो’ काका रहेको पहिचान गर्नुभयो ।

गर्ग भन्नुहुन्छ, “तरकारी किन्ने पसलबाट काकामा कोरोनाको सङ्क्रमण आएको हुनुपर्छ, परिवारका सदस्य बाहिर जाने भनेकै तरकारी वा किराना पसल हो ।” सङ्क्रमणबाट परिवारका सदस्यहरू थपिँदै जाँदा हामी त्रसित र लज्जित हुन पुग्दै थियौँ– उहाँले थप्नुभयो । परिवारमा १७ जना रहेपनि एक्लिएको महसुस गर्न थालेको गर्ग बताउनुहुन्छ । “हामीमध्ये कसैको मृत्यु हुँदा कोरोना सङ्क्रमण फैलन आशङ्कामा अन्त्येष्टिमा पनि कोही नआउने हो की भन्ने चिन्ताले पिरोल्न थाल्यो”, गर्ग सुनाउनुहुन्छ ।

मे पहिलो साता ५४ वर्षीया काकीलाई श्वास लिन असहज भएपछि हामी सबै जनाले हतारमा अस्पताल पुर्यायौँ । र सबैलाई परीक्षण गर्नुपर्ने अवस्था आयो । मेको पूरा महिना परिवारका १७ जना नै कोरोनाभाइरससँग लड्दै बिताए । उनीहरूले उच्च ज्वरो हुने दुई जनालाई छुट्टै कोठामा राखे । एघार जना सङ्क्रमितमध्ये छ जनामा मधुमेह, हृदयरोग र उच्च रक्तचापको समस्या थियो । जसले जोखिम र चिन्ता अझै बढायो । “रातभरिमै हाम्रो घर अस्पतालमा परिणत भयो र बाँकी रहेकाहरू नर्सको भूमिका निर्वाह गर्न बस्यौँ ।”

गर्ग र उहाँकी श्रीमती युवा अवस्थामा रहेकोले कुनै लक्षण देखा नपर्नु स्वभाविक नै थियो । तर ९० वर्षीय गर्गका हजूरबुवामा पनि कुनै लक्षण नदेखिनुले परिवारलाई नै चकित तुल्यायो । मे दोस्रो साता थुप्रै सङ्क्रमितको परीक्षण निगेटिभ आउँदा उहाँले राहत महसुस गर्नुभयो । त्यत्तिकैमा उहाँकी काकी पनि अस्पतालबाट निको भएर घर फर्किनुभयो । परिवारका अन्य सदस्यमा पनि लक्षण बिस्तारै हराउँदै गयो । मे बित्नै लाग्दा अन्तिम साता गर्गसहित परिवारका तीन जनामा अझै कोरोना सक्रिय पाइयो । जुन एकमा तीनै जनाले तेस्रो पटक परीक्षण गराउँदा स्वास्थ्य प्रतिवेदनमा कोरोना सक्रिय नभएको देखायो ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाखको हाराहारीमा पुगेको छ । तर परम्परागत रुपमा एकै परिवारमा बस्न रुचाउने भारतीय परिवारमा कोरोनाभाइरसको सङ्क्रमणले केही हदसम्म सङ्क्रमित वृद्धलाई हेरचाह गर्ने उपयुक्त अवसर पनि जुराइदिएको छ । सयौँ वर्षदेखि विद्यमान संयुक्त परिवारलाई कोरोनाभाइरसले अलग्याउन नसक्ने भारतको कानपुरस्थित सीएसजेएम विश्वविद्यालयकी प्राध्यापक किरण लाम्बा झा बताउनुहुन्छ ।

“परिवारमा सबैसँग घुलमिल गरेर हामीले कहिले यति लामो समय बिताएका थिएनौँ”, भन्नुहुँदै गर्ग थप्नुहुन्छ , “लकडाउनले अवसर जुरायो र एक अर्कालाई भरपूर सहयोग गर्ने वातावरण पनि बनायो ।”

“भाइरसको दोस्रो तरङ्ग आउन सक्नेमा हामी सचेत छौँ, तर अहिलेलाई हामी भाइरसलाई परास्त गर्न सफल भएको खुसीयाली मनाउँदैछौँ ।” गर्ग भन्नुहुन्छ ।

(बीबीसीका लागि क्रुतिका पाठीले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश ) स्रोत- गोरखापत्र अनलाइन


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार ११:२५