शीर्षस्थानको पिएसजी रेनेससँग स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ । पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो ।

पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल टोको एकम्वीले गोल गरेपछि पिएसजी खेलमा पछि पर्यो ।

त्यसपछि ४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै पिएसजीलाई स्तब्ध पारे । पिएसजीले अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदानमा उतारेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।
यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीलाई हराएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।


प्रकाशित | ६ चैत्र २०७९, सोमबार ०८:५६