दोलखाको आर्थिक समृद्धि र रूपान्तरणका निम्ति बालकृष्ण शिवाकोटीलाई मत दिनूस्: पार्वत गुरुङ

पार्वत गुरुङ

दोलखामा एमालेको तर्फबाट प्रतिनिसिभा सदस्य तर्फ नेकपा एमालेको उम्मेदवार बालकृष्ण शिबाकोटी हुनुहुन्छ । आनन्द प्रसाद पोखरेल पुरानो र पार्वत गुरुङले पनि दुई–दुई पटक निर्वाचन जितिसकेको भन्ने कुरा उठिसकेपछि हामीले नयाँ र युवा पङ्क्तिबाट उम्मेदवार खडा गरेका छौँ । उहाँ नेकपा एमालेमा लामो राजनीतिक पृष्ठभूमि भएको व्यक्ति हुनुहुन्छ । दोलखाको आर्थिक समृद्धि र आर्थिक रूपान्तरणका निम्ति उहाँलाई अगाडि सारेका हौँ । किनभने उहाँ व्यावसायिक पृष्ठभूमी भएको व्यक्ति पनि हो । लगानीमैत्री वातावरण निर्माणको कामको उहाँले नेतृत्व गर्नुहुने छ ।

उहाँले नेपालको समग्र अर्थतन्त्र, उद्योग, व्यवसाय र दोलखाको आर्थिक अवस्थाबारे राम्रो ज्ञान राख्नुभएको छ । उहाँबाट दोलखामा लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ भन्ने विश्वास पार्टीले गरेको छ । किनकी दोलखाबाट राजनीतिक परिवर्तनको नेतृत्व हामीले गर्यौँ, अब खाँचो आर्थिक क्रान्तिको हो र हामीले त्यसको नेतृत्व उहाँबाट गराउन चाहेका हौँ ।

निर्वाचनको मिति नजिकिदै जाँदा दोलखामा गठबन्धनका उम्मेदवारहरू अत्तालिन थालेका छन् । पाँच पार्टी मिलेपछि एमालेलाई सोझै परास्त गर्न सकिन्छ भन्ने मनोविज्ञानले काम नगरेपछि अहिले उहाँहरू बुथ कब्जा गर्ने, जनता धम्क्याउने र तर्साउने योजनाको तानाबुना बनाउँदै हुनुहुन्छ ।

स्थानीय तह निर्वाचनको मत परिणामलाई हेरेर उत्साहित बनेका गठबन्धनका उम्मेदवारहरू एमालेको कडा मेहनतपछि हतोत्साही मुडमा पुगेका छन् । दोलखाको विकासनिर्माणको काममा एमालेले हालसम्म खेलेको भूमिबाट मतदाता सन्तुष्ट रहेको तथ्य उजागर हुनु र दोलखा एमाले एक ढिक्का रहेको सन्देशको मर्म बुझेका गठबन्धनका उम्मेदवारहरू पछिल्लो केही दिनयता अत्तालिने अवस्थामा पुगेका हुन् ।

किनभने यो पटक नेकपा एमालेले दोलखामा बुथ कब्जा गर्ने र जनता तर्साउने प्रवृत्तिको अन्त्य गर्न योजनाबद्ध ढङ्गबाट अगाडि बढिरहेको छ । जनमतमा पछाडि रहेको गठबन्धनले बुथ कब्जा र जनता तर्साउन नपाएपछि पराजयको मानसिकता बनाउन थालेका छन् ।

यो २१औँ सताब्धीमा पनि बुथ कब्जा गर्ने, जनता लखेट्ने, जनतालाई धम्क्याउने अनि जनतालाई तर्साउने यस्तो गतिविधि अन्त्य गर्नुपर्छ । यदि अहिले पनि त्यसो गरिन्छ भने त्यो राजनीति हुँदैन, त्यो आतंक हुन्छ भन्ने दोलखा एमालेको दृष्टिकोण छ ।

बन्दुक बोकेर, जंगल–जंगलमा दिनदहाडै निहत्था जनताको घाँटी रेटेर, हत्या र हिंसा गरेर राजनीतिको खोल ओढेर फेरि दोलखामा २०७४ को जस्तो व्यक्ति हत्या गरेर चुनाव जित्ने योजना र सपनामा उहाँहरू अहिले पनि देख्ननुहुन्छ, तर त्यो सपना यो पटक एमालेले कदापि पूरा हुन दिँदैन ।

हामी दोलखाका प्रमुख नेताहरू आनन्द पोखरेल, ईश्वर चन्द्र पोखरेल र पार्वत गुरुङललगायत नेताहरू आफै बुथमा खट्छौँ । तामाकोशीको बुथमा बस्छौँ । जहाँ बुथ कब्जा गर्छौं भनेर गठबन्धनका उम्मेदवारहरूले हल्ला फिजाएका छन्, त्यो बुथको हामी जसरी पनि सुरक्षा गरेरै छोड्छौँ ।

जसरी २०७४ सालमा गौरीशंकरको जुँगुमा कुलबहादुर तामाङको हत्या गरियो । शान्तिपूर्ण राजनीतिमा आएर पनि माओवादीले हत्याको बाटो लियो । त्यो कुरा दोलखालीले कहिल्यै बिर्सिने छैनन् । एमालेले माओवादीलाई जति सुधार्न खोजे पनि सुध्रिएन । तान्यो तान्यो आएन, अझै तान्यो आएन तै पनि हरेश खाएन । माओवादीलाई ठीक ठाउँमा ल्याउनका लागि अझै पनि प्रयास गरिरहेको छौँ । यो प्रयास निरन्तर भइरहने छन ।

आज दोलखामा कांग्रेसलाई भोट हाल्ने ठाउँ छैन । संघमा उहाँहरूको उम्मेदवार हुनुहुन्न । एकीकृति समाजवादीको पनि उम्मेदवार छैन । मेरो आदरणीय शिव भण्डारी दाइलाई पनि शंकट परेको छ । उहाँलाई म आग्रह गर्न चाहान्छु– यति लामो समय एमालेमा रहेर कम्युनिष्ट आन्दोलनको सहयात्रा गर्यौँ । अहिले परिस्थितिले फरक कित्तामा छौँ । यद्यपि, उहाँप्रति हाम्रो सम्मान कत्ति पनि डगमगाएको छैन, उहाँले पनि हामीप्रतिको माया र सद्भाव कायम राख्नुभएको छ भन्ने विश्वास मलाइ छ ।

२०५१ सालको लोकप्रिय सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भनेर यो गाउँको र देशको विकास गर्ने र विकासको मुल फुटाउने काम एमालेले गरेको हो । वृद्धभत्तालगायत सामाजिक सुरक्षाका क्षेत्रमा एमालेले महत्वपूर्ण काम गरेको छ । त्यो नीति, दृष्टिकोण र विचार ल्याउने पार्टी एमाले हो । अहिले दोलखामा जति पनि विकास निर्माणका काम भएका छन् ती सबै एमालेले गरेको हो । पछिल्लो समय भएका तीव्र विकासको क्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गर्नुभएको हो ।

अहिले प्रदेशमन्त्री रहनुभएका व्यक्तिहरूले जुन प्रकारले प्रचार गर्नुभएको छ । एमालेकाप्रति आरोप लगाइरहनुभएको छ ती व्यक्तिहरूलाई कुनै पनि बेला अख्तियारले समात्न सक्छ । किनभने उनीहरूले सेटिङ चलाएका छन्, जनताको नाम दिएर ल्याइएको बजेटमा सेटिङ र कमिशनको खेल खेलिरहेका छन् ।

हामी (एमाले) लाई अहिलेसम्म कसैले पनि औंला उठाउने ठाउँ छैन । किनभने हामी आफ्नो नैतिकता, इमानदारिता र आर्थिक मामलामा स्वच्छ छौँ । पार्टीभित्र होस् वा पार्टीबाहिर, कुनै अनुसन्धानकर्ताले होस् वा पत्रकार कसैको नजरमा पनि हामी गिरेका छैनौँ । त्यो नै हाम्रो स्वाभिमान हो र तपाइँहरू ९मतदाता०ले हामीलाई गर्नुभएको विश्वासको कदर हो । तपाइँहरूप्रतिको सम्मान पनि हो । तपाइँहरूले सम्मानपूर्वक दिनुभएको मतले अहिलेसम्म दोलखालीको शीर झुक्ने काम गरिएको छैन र भोलि पनि शीर झुक्न दिने छैनौँ ।


प्रकाशित | २६ कार्तिक २०७९, शनिबार १६:२८