२७ वटा स्टेसनबाट उपत्यका बाहिरकाले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सक्ने

काठमाडौं : काठमाण्डौ उपत्यका बाहिर स्थायी बसोबास भएका नागरिकहरुले उपत्यकाका २७ वटा स्टेसनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन सक्ने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बुधबार एक सूचना जारी गर्नुहुँदै हाल देशभरिका ७७ जिल्ला प्रशासन कार्यालय तथा ४२ वटा ईलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार लगायतका स्थानबाट राष्ट्रिय परिचय पत्र दर्ता अभियान सञ्चालन भइरहेकोमा उपत्यकाबाहिरका स्थायी बासिन्दालाई सहजताका लागि काठमाडौं उपत्यकाका २७ वटा स्टेसनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सकिने ब्यवस्था गरिएको जानकारी गराउनुभयो ।

महानिर्देशक पण्डितले जारी गर्नु भएको विज्ञप्ति अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बागमती प्रदेशका ललितपुर भक्तपुर बाहेक सबै जिल्ला र मधेश प्रदेशका धनुषा र पर्सा जिल्लाका सेवाग्राही, जिल्ला प्रशासन कार्यालय ललितपुरमार्फत कर्णाली र सूदूरपश्चिमका सबै र मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सक्नेछन् ।

आगामी दिनमा कार्ड प्राप्त गर्ने लगायतका कार्यमा सहजता हुने हुँदा अति जरुरी परेको अवस्थामा बाहेक सकेसम्म आआफनो स्थायी ठेगाना भएको जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालय कार्यालयबाट नै विवरण दर्ता गराउन पनि आग्रह

त्यस्तै, नारायणहिटी दरबार परिसर मार्फत प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला, प्रदेश नंं.२ का सिरहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राही, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमार्फत नेपाल सरकार तथा माताहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ठ पदाधिकारीमात्रले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न सकिने जारी सूचनामा उल्लेख छ ।

त्यस्तैगरि राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा राष्ट्रसेवक कर्मचारीका परिवारले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सक्नेछन् ।

विभागले आगामी दिनमा कार्ड प्राप्त गर्ने लगायतका कार्यमा सहजता हुने हुँदा अति जरुरी परेको अवस्थामा बाहेक सकेसम्म आआफनो स्थायी ठेगाना भएको जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालय कार्यालयबाट नै विवरण दर्ता गराउन पनि आग्रह गरेको छ ।

स्थायी ठेगाना बाहिर भएका नागरिकले विवरण दर्ता गर्दा नागरिकताको प्रमाणपत्र संकल, बसाई सरी आएको हकमा बसाई सराई प्रमाणपत्रको संकल, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने प्रमाणपत्रको संकल कागजपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै, कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सन पट्टा, कर्मचारीको लागि कर्मचारी प्रमाणपत्रको प्रतिलिपी कागजपत्र आवश्यक पर्ने जनाइएको छ ।


प्रकाशित | १७ फाल्गुन २०७९, बुधबार २१:१८