एनआरएनए एसिया प्यासिफिकको क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलन सेप्टेम्बर २६ र २७ मा गर्ने घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्बर २६ र २७ तारिखमा गर्ने घोषणा गरिएको छ । क्षेत्रीय भेलामा ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ मूख्य नारा तय गरिएको छ ।

भेलाका संयोजक तथा एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द )का अनुसार दुई दिने भेलामा पहिलो दिन मुल विषय र दोश्रो दिन विज्ञ सम्मेलन गर्ने गरि कार्यतालीका तय गरिएको छ । विज्ञ सम्मेलनमा विशेष गरि कोभिड १९ महामारीपछि उद्यमशिल र सफल बन्न अवसर तथा चुनौतिका विषयमा केन्द्रित गरिनेछ ।

भर्चुअल रुपमा हुने सो भेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुहुनेछ । साथै अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाली काग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला, सांसद सूर्य पाठक, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकलगायत रहनुहुनेछ ।

पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारको पुन एकीकरणका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच छलफल गरी निष्कर्ष निकालीनेछ ।

त्यस्तै, एसिया क्षेत्रभित्रका विभिन्न एनसीसी तथा आइसीसीका विभिन्न रिपोर्टहरु प्रस्तुत समेत गरिनेछ । साथै एनआरएन आइसीसीले परिवर्तन गर्न लागेका नयाँ एजेण्डामा छलफल गरिनेछ ।

दोश्रो दिन विज्ञ सम्मेलन हुनेछ । विज्ञ सम्मेलनका संयोजक तथा एनआरएनए आइसीसी सदस्य डा.देवीबहादुर बस्नेतका अनुसार एसिया प्यासिफिकका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी, श्रमिकका साथै नेपालबाट विभिन्न विश्व विद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञहरुले विभिन्न क्षेत्रका ११ वटा विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । विज्ञ सम्मेलन एनआरएनएले आयोजना गर्न लागेको विश्व विज्ञ सम्मेलनको पूर्व तयारीस्वस्प हुनेछ ।

एनआरएनए एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपाने, महिला संयोजक अमृता थापा, युवा संयोजक दिपक कडेलले क्षेत्रीय भेला फलदायी हुने विश्वास ब्यक्त गर्नुहुँदै सहयोगको लागि सबैमा आग्रह गर्नुभएको छ । एनआरएनएको एसिया प्यासिफिकमा १० वटा एनसिसी क्रियाशील रहेका छन् ।


प्रकाशित | १ आश्विन २०७७, बिहीबार १५:०४