मेसी के आज पनि चम्केलान त ?

मेसी के आज पनि चम्केलान त ?

एजेन्सी :युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सेमिफाइनलअन्तर्गत दोेस्रो लेगको खेलमा आज दुई ठूला टोली इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना भिडन्त गर्दैछन् । यसै खेलबाट यो सिजन फाइनल पुग्ने पहिलो टिमको टुंगो लाग्दैछ ।
गत सिजनको उपविजेतासमेत रहेको लिभरपुल आज आफ्नो घर एनफिल्डमा स्पेनिस महारथि बार्सिलोनालाई आतिथ्यता दिँदैछ । यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगमा बार्सिलोनाले ३–० को शानदार जित निकालेको थियो ।

आफ्नो घरमा उत्रिँदा लिभरपुल आज बार्सिलोनाविरुद्ध चमत्कारिक नतिजा निकाल्ने दाउमा छ । किनभने, आज उसले चमत्कार गर्न नसके ऊ सेमिफाइनलबाटै आउट हुनेछ ।
त्यसका लागि लिभरपुलले आज आफ्नो घर एनफिल्डमा अघिल्लो लेगको नतिजा उल्ट्याउन कम्तीमा ४–० को जित निकाल्नुपर्छ । विश्वका उत्कृष्टमध्येका एक खेलाडी लिओनल मेस्सीजस्ता खेलाडी सम्मिलित बार्सिलोनालाई यत्तिको अन्तरमा हराउन लिभरपुलले कुनै न कुनै रूपमा चमत्कार नै गर्नुपर्छ । कि, बार्सिलोनाले लिभरपुलको घरमा प्रशस्तै गल्ती गर्नुपर्छ

यदि आज दोस्रो लेगमा लिभरपुलले स्पष्ट रूपमा ४–० को जित निकाले समग्रमा अघि रहँदै ऊ फाइनल पुग्छ । यो नभए ९० मिनेटमा ३–० को जित निकाले खेल समग्रमा ३–३ हुन्छ । र, ३० मिनेटको थप समयमा जान्छ । त्यहाँ पनि हार–जित नभए खेल पेनाल्टीमा जान्छ ।
फाइनल पुग्ने सम्भावनालाई कायमै राख्न लिभरपुलले बार्सिलोनालाई आफ्नो घरमा गोल गर्न दिनुहुँदैन । यदि बार्सिलोनाले १ गोल मात्रै गरेको खण्डमा लिभरपुललाई खेल जित्न ५ गोल चाहिन्छ । यदि बार्सिलोनाले आज २ गोल गरे लिभरपुललाई खेल जित्न ६ गोल चाहिन्छ ।

तसर्थ, आज लिभरपुलले बार्सिलोनाविरुद्ध जित निकाल्न कुनै चमत्कार नै गर्नुपर्छ । किनभने, उसलाई आज सामान्य नतिजाले पुग्दैन । अघिल्लो लेगमा ३ गोल खाएर आफूले १ गोल पनि गर्न नसक्दा ऊमाथि आज शतप्रशित दबाब छ ।

चोटले थप्यो समस्या

यतिबेला लिभरपुल ३–० को नतिजाबाट त्यत्ति चिन्तित छैन, जति टोलीका प्रमुख ३ खेलाडीको चोटबाट चिन्तित छ । किनभने, आज मिडफिल्डर नावी केइटा, टोलीका प्रमुख फरवार्डद्वय मोहमद सालाह र रोवर्ट फर्मिन्हो चोटका कारण यस खेलमा हुनेछैनन् । लिभरपुललाई यसको मूल्य महँगो पर्न सक्छ ।
केइटा बार्सिलोनासँग पहिलो लेग खेल्नेक्रममा घाइते भएका थिए । सालाह गत शनिबार प्रिमियर लिगमा न्यु क्यास्टलविरुद्धको खेलमा घाइते भएका थिए । उनको टाउकोमा चोट परेको छ । त्यस्तै, अर्का फरवार्ड फर्मिन्हो पनि केही समयदेखि नै चोटग्रस्त रहेकाले आजको खेलमा हुनेछैनन् ।

तसर्थ, आज लिभरपुललाई आफ्ना प्रमुख गोलकर्ता खेलाडी नहुँदा थप दबाब छ । ३–० को नतिजा उल्टाउनुपर्ने दबाबबीच आज अवश्य पनि लिभरपुललाई सालाह र फर्मिन्होको अभाव खड्किनेछ ।
सालाह र फर्मिन्हो नहुँदा आज लिभरपुलका तर्फबाट बार्सिलोनाको पोस्ट हान्ने जिम्मा साडियो मानेसँगै जोर्डन शाकिरी र डिभोग ओरिगीले पाउनेछन् । खेल नेपाली समयअनुसार आज राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार २२:४७