संविधानसभा पदक ३० प्रतिशतभन्दा बढीले लिएनन्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका सदस्यहरुलाई संविधानसभा पदक र प्रमाणपत्र प्रदान गर्नुभएको छ । १२ औं गणतन्त्र दिवसको अवसरमा उहाँले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

गृह सचिव प्रेमकुमार राईका अनुसार ७ सय १४ जना सभासद्ले विभूषण तथा प्रमाणपत्र लिएका छन् । २०६४ साल र २०७० सालमा भएका संविधानसभाका सांसदहरुलाई वितरण गरिएकोे पदक लिनका लागि २ चरणमा गरी समय छुट्याइएको थियो । विभूषण तथा बैठक समारोह शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले अघिल्लो बुधबार नै सूचना जारी गरेको थियो ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्तले पदक पाउनेको संख्या ११ सय ०९ रहे पनि धेरै सभासद् उपस्थित नभएको जानकारी दिनुभयो । उहाँले ९० जना दोहोरिएका सभासद् रहेको बताउनुभयोे ।

८ सयभन्दा केही बढीले फारम भरेको गृह सचिव राईले बताउनुभयो । मृत्यू भएका सभासद्को विभूषण परिवारले गृह मन्त्रालयबाट पाउने छन् । पदक नेपाली सेनाले बनाएको हो । पदकमा ७ वटा गुँरासका फूल, बीचमा संविधानको किताव, सूर्य चिन्ह र हात मिलाएको तस्विर राखिएको सर्लाही –३ बाट २०७० सालको संविधानसभामा एमालेबाट निर्वाचित हरिप्रसाद उप्रेतीले बताउनुभयो ।

उहाँले संविधान निर्माणमा सक्रिय सहभागी भएबापत पाएको सम्मानले खुशी लागेको बताउँदै भन्नुभयो–‘हामी त भाग्यमानी हौं, संविधानमा हस्ताक्षर गर्न पायौं । प्रमाणपत्रमा ‘नेपालको संविधान निर्माणमा योगदान पु¥याउनु भएकाले यहाँलाई संविधानसभा पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ’ लेखिएको छ ।

२०६४ सालको संविधानसभा पटकपटक म्याद थप्दै २०६५ जेष्ठ १४ गते मध्यरातबाट भंग भएको थियो । फेरि संविधानसभाको अर्को निर्वाचन २०७० मंसिर ४ गते भएको थियो । राजनीतिक दलहरु असफल भएपछि खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० सालको संविधानसभाको निर्वाचन गरेको थियो । सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो ।

संविधानसभा पदक पाएका धेरैजसो सभासद्ले पदक लिएको तस्वीर आ–आफ्नो फेसबुक स्टाटसमा राखेको देखियो ।

पदक लिएपछि राष्ट्रपति भवनको चौरमा उभिदैँ सेल्फी खिचेर उनीहरु फेसबुकमा पोष्टिन हतार गर्दै गरेको दृश्य देखिन्थ्यो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ०९:४४