गैर आवासीय नेपालीहरूको मुद्दा चाँडै सम्बोधन हुन्छ: राजदूत खतिवडा

न्यूर्योक । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले गैर आवासीय नेपालीहरुको मुद्दा ऐनमार्फत संशोधन हुने बताउनु भएको छ । राजदूत खतिवडाले गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन हुने गरि नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताउँदै ऐन बनेसँगै एनआरएनको मुद्दा सम्बोधन हुने बताउनु भएको हो ।

‘एक पटकको नेपाली सधैँका लागि नेपाली’भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षा ऐनमार्फत सम्बोधन हुन्छ’,शनिवार न्यूयोर्कमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा सम्बोधन गर्दै खतिवडाले भन्नु भयो ।

संविधान निर्माणको चरणमा गैर आवासीय नेपालीहरुको सल्लाह, सुझाव र मागअनुसार नागरिकताको अधिकारलाई सुरक्षीत गरिएको उहाँको भनाइ छ । राजदूत खतिवडाले संविधानमा भएको ब्यवस्थालाई अब कानुनमा रुपान्तरण गर्न केहि समय लाग्ने र नागरिकता सम्बन्धी ऐन तथा गैर आवासीय नेपाली ऐन बनेसँगै मुद्दा सम्बोधन हुने बताउनु भयो ।

सरकारले तत्कालको लागि स्मार्ट एनआरएन कार्ड वितरण गर्न लागेको बताउनु हुँदै अब गैर आवासीय नेपालीहरुको अधिकार सुरक्षीत रहेको स्पष्ट पार्नु भयो । खतिवडाले गैर आवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासमा लगाउनुपर्नेमा पनि जोड दिनु भयो ।


प्रकाशित | २० असार २०७८, आईतवार १८:५७