एनआरएनएको इज्जत जोगाउन र प्रतिष्ठा फर्काउन सहमति आवश्यक छ: महेश श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले संस्थालाई सही दिशामा अगाडि बढाउन सहमति र सहकार्यको खाँचो औल्याउनु भएको छ । संस्थामा केहि असमझदारी र वैमनस्यताका कारण शाख गिरेको बताउँदै उपाध्यक्ष श्रेष्ठले एनआरएनएको प्रतिष्ठा फर्काउन सहमतिको खाँचो औल्याउनु भएको हो ।

विश्व सन्देशसँगको कुराकानीमा श्रेष्ठले वर्तमान कार्यकालमा संस्थामा तीन जना अध्यक्षसहित विभिन्न पदहरु सृजना गर्नुपरेको बताउनुहुँदै आगामी कार्यकालमा अहिलेको समस्या समाधानका लागि सहमतिको आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘विगतमा एनआरएनको चाम जुन किसिमको थियो, त्यही अवस्थामा फर्काउन अधिकतम सहमति गरेर आगामी नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्नुपर्छ’, श्रेष्ठले भन्नुभयो ।

संस्थालाई सही दिशामा लैजान र सहमतिको वातावरण बनाउन वर्तमान तीनै जना अध्यक्षको महत्वपूर्ण भूमीका हुने र सबैभन्दा बढी भूमीका डा. बद्री केसीको हुने उहाँको भनाइ छ । पहिलो ६ महिना कुल आचार्य, त्यसपछि रविना थापाको र अन्तिम ६ महिने कार्यकाल केसीको भएकाले संस्थालाई एकताबद्ध गराउन र सहमतिको आधारमा नेतृत्व चयन गराउने कार्यमा केसीको महत्वपूर्ण भूमीका हुने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विगतमा आफ्नो पहलमा जापान, अमेरिकादेखि हरेक देशमा सहमति भएको बताउँदै उपाध्यक्ष श्रेष्ठले अबका नेतृत्व विवाद समाधान गर्न सक्ने र सहजीकरण गर्न सक्ने हुनुपर्नेमा जोड समेत दिनुभयो । 

धुमील भएको संस्थाको इज्जत जोगाउन र प्रतिष्ठा फर्काउन सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने र सबैलाई मिलाउन सक्ने ब्यक्तीलाई नेतृत्व चयन गरिनुपर्नेमा उहाँको जोड छ ।

एनआरएनमा आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष डा. केसीसहित उपाध्यक्ष उपाध्यक्ष डा. हेमराज शर्मा, महेश श्रेष्ठ, आरेक शर्मा, कोषाध्यक्ष सुनील साहलगायतले तयारी गरिरहनु भएको छ ।


प्रकाशित | १७ माघ २०७९, मंगलवार ०९:३७