एनआरएनए कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको उम्मेदवारी घोषणा

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा त्रिपाठीले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

क्षेत्रीय संयोजकको सफल कार्यकालपछि त्रिपाठीले अग्रजहरु सबैको सरसल्लाह र सुझावअनुसार कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । ‘आर्थिक अनुशासन, मितब्ययी, आत्मनिर्भर र अनुशासन’ गरि चार मन्त्रलाई अगाडि सादै त्रिपाठीले कोषाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

उहाँले कोषाध्यक्षका रुपमा संस्थामा आर्थिक पारदर्शिता आफ्नो पहिलो एजेण्डा हुने बताउनु भयो । उहाँले अहिलेसम्मको योगदान, अनुभव, ज्ञान र सीपलाई अवको नेतृत्वदायी भूमिकाका लागि प्रयोग गर्न प्रयास गर्ने उहाँले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is rajan-834x1024.jpg

‘गैर आवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाहरुका बारेमा उठेका प्रश्नहरुबाट शिक्षा लिन हामीले चुक्नु हुंदैन भन्ने मेरो विश्वास छ’, उहाँले भन्नु भएको छ, ‘निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाव कितावलाई पनि पारदर्शी बनाउंछ । त्यसैले संघका सबै निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र यसका लागि दरिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

संयुक्त राज्य अमेरिकाको बसाइका क्रममा विगत बर्षहरुदेखि नै नेपाली समुदायको हित, उन्नति, सुख दुख र मातृभूमिका लागि आफ्नो क्षमतालाई प्रयोग गर्दै आउनु भएको छ ।

त्रिपाठीले क्षेत्रीय संयोजकका रुपमा कार्यरत रहँदा नेपाली समुदायका खास खास मुद्धाहरु संसारभर के हुन् र तिनलाई आफ्नो मातृभूमिको सरकार र संसारभरका सम्बन्धित निकायमा कसरी दह्रोसँग उठाउन सकिन्छ भन्नेबारे गहिरो अध्ययन गर्ने र कांधमा कांध मिलाएर अघि बढ्ने अवसर प्राप्त भएको बताउनु भयो ।

‘विश्वलाई नै तहस नहस बनाउने कोरोना महामारीको अन्यौलग्रस्त अवस्थामा आफ्नो समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ गरिएका प्रयासहरुले म अझ हौसिएको छु र गैर आवासीय नेपालीको आवाज बनेर अघि बढ्ने कुरामा मलाई ठूलो प्रेरणा मिलेको छ’, उहाँले उम्मेदवारी घोषणा गर्दै भन्नु भएको छ, ‘यही प्रेरणा र हौसलालाई साक्षी राखेर आगामी निर्वाचनमा उम्मेद्वार बन्ने निर्णयमा पुगेको हुँ ।’

‘नेपालको सीमा भारतले मिचेर मातृभूमिलाई अप्ठ्यारो परेको बेला संयुक्त राष्ट संघको न्यूयोर्क मुख्यालयसम्म पुगेर नेपालबारे तथ्यपूर्ण जानकारी दिंदै सिमा मिच्नेलाई सजग गराउन दवाव सिर्जना गर्दा होस् वा छरिएर असंगठित बनेर बसेको अवस्थाका अमेरिकाज क्षेत्रका विभिन्न देशका नेपालीहरुलाई गैर आवासीय नेपाली संघभित्र संगठित गर्ने कार्य गर्दा होस् मैंले नेपाली समुदाय र मातृभूमिलाई शिरमा राखेको छु’, उहाँले थप्दै भन्नु भएको छ ।

हरेक संकट, समस्या र चुनौतिहरु आगामी दिनका लागि पाठ भएको बताउँदै त्रिपाठीले सामाजिक कार्यका क्रममा आपसका देखिएका मतान्तरहरुलाई समाधानको प्रयास गर्दा होस् वा महामारीमा सजगताका लागि मन बचन र कर्मले लागिपर्दा होस् विगतका बर्षहरुले गैर आवासीय नेपाली संघलाई कस्तो बनाउनु पर्छ र यसलाई कसरी गैर आवासीय नेपालीजनको हितमा लगाउनुपर्छ भन्नेबारे आफूलाई तिखार्ने मौका पाएको पनि बताउनु भयो । त्यस्तै, उहाँले सबैको साथ सहयोग हुने विश्वास समेत ब्यक्त गर्नु भएको छ ।


प्रकाशित | २१ भाद्र २०७८, सोमबार ०८:१६