नयाँ वर्षसँगै काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने अवस्थाको अन्त्य होस : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौ : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षसँगै लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पूर्व राजा शाहले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने ? सन्देशमा भन्नुभएको छ, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ।’ राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको सधै साथमा रहेको उल्लेख गर्नुभएको छ ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भन्नुभएको छ, ‘ गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं। नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।’

विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने उनको भनाइ छ। ‘स्वभावत यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन।’ जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन्। ‘उहाँले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको पनि उल्लेख गर्नुभएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०७:०३