क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं  -बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेको सूचना अधिकारी दिनेश पौडेलले नेपाल प्रेसलाई बताए । ‘आदेशको पूर्णपाठ केहीबेरमा आउँछ’, उहाँले भन्नुभयो, ‘लामिछानेको रिहाइ सर्तसहित हो ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन । लामिछानेलाई २० लाख रूपैयाँ धरौटी माग गरिएको छ ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक(पटक स्थगित भएको थियो । यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।


प्रकाशित | २८ पुष २०७९, बिहीबार १९:३३