विदेशमा यो साता थप ९ सय ६३ जना नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन् ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत साता सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैर आवासीय नेपाली संघले जनाएको छ ।


प्रकाशित | १६ कार्तिक २०७७, आईतवार १०:२०