सूर्यविनायक नगरपालिकाद्धारा मेलमिलापकर्मीलाई आठ दिने तालिम, सवै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने

भक्तपुर : वडातहमै कानूनी उपचारको व्यबस्था गर्न सूर्यविनायक नगरपालिकाले अब वडा वडामै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिल्न सक्ने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति तथा अदालतसम्म जान नपर्ने गरी वडा वडामै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले वडा नं. १ देखि १० सम्म प्रत्येक वडामा मेलमिलापन केन्द्र सञ्चालन गर्न प्रशिक्षण सञ्चालन गरेको छ ।

सूर्यविनायक नगरपालिकाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक वडाबाट तीन जनाको अनिवार्य सहभागिता रहने गरि १० वटै वडाका ३० जना महिलालाई कानूनी प्रशिक्षण सञ्चालन गरेको हो । शिक्षणको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव थापाले आफ्ना नागरिकलाई वडातहमै न्यायीक पहुँच पुर्याउने उदेश्यले सञ्चालन गर्न लागेको मेलमिलापकर्ताहरुलाई कानूनी र व्यवहारिक ज्ञान दिन कानूनका बिज्ञहरुबाट प्रशिक्षण सञ्चालन गरिएको बताउनु भयो ।

कतिपय समस्याहरु वडातहमै समाधान गर्न सकिने भएपनि त्यसको व्यबस्था नहुँदा पीडितहरु न्याय माग्दै नगरपालिकाको नयायीक समिति र अदालतसम्म पुग्नु पर्ने समस्याको अन्त्य गर्दै नगरवासीका विभिन्न समस्याहरुलाई वडास्तरमै समाधान गर्न मेलमिलाप केन्द्र प्रभावकारी हुने नगर प्रमुख थापाले बताउनु भयो । उहाँले तालिमबाट सिकेका कुरालाई व्यवहारिक रुपमानै उतार्नु पर्ने भएकाले प्रशिक्षणमा सहभागिहरुले समय खेर नफाली बढी भन्दा बढी ज्ञान हासिल गर्न सफल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका प्रमुख सरिता भट्टराईले प्रशिक्षण सम्पन्न लगत्तै नगरपालिकाले आफ्ना सवै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गर्ने योजना बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “आफ्ना टोलमा छिमेकी छिमेकीबीच फाँटेको मनलाई खाटा नबस्ने गरि सिलाउने कार्यमा नगरपालिका अहोरात्र खटिएको छ, त्यसैको एउटा पाटो हो यो, त्यसैले यो प्रशिक्षणमा आफ्नो क्षमताको विकास गर्दै न्याय मूर्तिका रुपमा स्थापित हुनसक्ने गरि अगाडि बढ्न आग्रह गर्दछु ।”

This image has an empty alt attribute; its file name is 4-1024x768.jpg

जनताको समस्या समाधान गर्न आवश्यक समन्वय गर्दै कसैलाई अन्याय हुन नदिन नगरपालिका कटिबद्ध रहेको चर्चा गर्दै उहाँले नगरपालिका ऐन, नीति, नियम र विधिले चल्ने भएकाले जनताको सकारात्मक साथ र सहयोगको अपेक्षा सधै रहने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले मेलमिलाप केन्द्रले प्रत्येक वडामा आएका समस्यालाई वडा तहमै समाधान गर्ने र वडा तहमा समाधान हुन नसके मात्रै नगरपालिका वा माथिल्लो निकायमा जाने बाटो देखाउने गरि अगाडि बढ्न सफल हुनेमा विश्वास व्यक्त गर्नु भयो ।


प्रकाशित | २६ पुष २०७९, मंगलवार २१:५६