कोरोना संक्रमितको उपचारका लागि राजधानीका पाँच अस्पतालमा एक सय २० आइसियू बेड थपिँदै

काठमाडौं : सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् ।

आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ । टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या थप्न सात करोड ५० लाख मागेको छ । त्यही रकमले आवश्यक जनशक्ति पनि थप गर्ने उसको प्रस्ताव छ ।

सैनिक अस्पतालले भने २० शैय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ । छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरूलाई उपचारमा खटाइनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई सोमबारदेखि तालिम दिने भएको छ ।  आजको नयाँ पत्रिकाबाट


प्रकाशित | ३ चैत्र २०७६, सोमबार ०८:४४