एनआरएनए यूकेका नवनियुक्त अध्यक्ष खडकासहित उपाध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

लन्डन : गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नवनियुक्त अध्यक्ष सुनीलबाबु खडकालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा खड्काको अध्यक्षतामा रहेको नवनियुक्त विभिन्न पदाधिकारी तथा सदस्यलाई शपथ खुवाइएको हो ।

एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो भने उपाध्यक्ष दीपक श्रेष्ठसहित अमन गौचन, सपना खनिया, शशांक शर्मा र उपेन पौडेललाई अध्यक्ष खड्काबाट शपथ ग्रहण गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आइसीसी अध्यक्ष आचार्यले एनआरएनए यूकेमा केही उतारचढाव भएपनि झुटको खेती बढी नै भएको भन्दै आपत्ति जनाउनुभयो ।  गैर आवासीय नेपालीका प्रमुख मुद्दा नेपाल सरकारले सम्वोधन गरेको अवस्थामा एक भएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिर्दै आचार्यले गाली गलौज गर्दैमा कोही अगाडि नपुगिने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is uk-1024x635.jpeg

कार्यक्रममा बाग्मती प्रदेश सरकारका भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल एनआरएनए यूकेको नेतृत्वलाई सफलताको शुभकामना दिंदै एक भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

एनआरएनए आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले पछिल्लोपटक संघमा जे जस्ता समस्या आए त्यसप्रति क्षमायाचना गर्दै संस्थामा सुधारको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले खड्काको कमिटी नै वैधानिक भएको बताउँदै मतभिन्नता रहेका सबैलाई एकै ठाउंमा ल्याउन पनि सुझाव दिनुभयो ।

एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम संयोजक एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत गर्दै एनआरएनए यूकेलाई केन्द्रबाट मान्यता पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 324024345_746359927055232_4668249953986031299_n-1024x576.jpg

कार्यक्रममा एनआरएनए यूकेको भूमिकाबारे उपाध्यक्ष गोविन्द खरेल, अर्का उपाध्यक्ष मोहन कार्की, एनआरएनए आइसीसी प्रेस संयोजक चिरन शर्मा, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषाल, एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष सुनिलबाबु खड्काले एनआरएनए आइसीसी संस्थापक सचिव चिरन्जिवी ढकाललाई विशेष सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रम सचिव ज्ञानेन्द्र आलेले सञ्चालन गर्नु भएको थियो ।


प्रकाशित | २५ पुष २०७९, सोमबार १०:३३