अब विदेशबाट फर्किएकालाई पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौँ : सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने जानकारी गराउनुभयो ।

विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।

प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिनुभयो । स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ०८:०९