रुपज्योति पक्राउको विरोधमा निजी क्षेत्र आन्दोलित

काठमाडौं: निजी क्षेत्र विरोधमा उत्रिएको छ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले बुधबार विज्ञप्ती जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेपछि निजीक्षेत्र अब खुलेरै मैदान आएको हो । यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा एशोसिएशन नेपाल, नेपाल चीन चेम्बरआदीले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले विहीबार प्रदर्सन गर्ने जनाएको छ ।

ल्याण्डमार्ग हाउजिङमा भएको ठगीको आरोपमा बिजेन्द्र मल्लले दिएको उजुरीको आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरेसँगै निजी क्षेत्र त्रसित भएको भन्दै निजीक्षेत्रका संघ संस्थाहरुले विरोधका कार्यक्रम नै गर्न लागेका हुन् ।

ल्याण्डमार्क हाउजिङको विषयलाई लिएर गैरकानूनी रुपमा डा। रुप ज्योतिलाई नेपाल प्रहरीले पक्राउ गरेको भन्दै निजीक्षेत्र देवयानी मुद्दाको विषयलाई फौजदारी मुद्दामा जोडेर पुरै परिवार विरुद्ध पक्राउ पुर्जी काट्नु एकदमै गलत रहेको ठहरमा पुगेको छ ।

ज्योति परिवारले बिजेन्द्र मल्लको मागदावी अनुरुपको रकम अदालतमा पहिले नै जम्मा गरिसकेको अवस्थामा पनि एउटा अपराधी जसरी पक्राउ गर्दा त्यसले समग्र निजी क्षेत्रलाई निरुत्साहित बनाएको भन्दै उद्योगी व्यवसायीको आत्मबल बढाउनुपर्ने अवस्थमा हजारौ रोजगारी सिर्जना गर्ने तथा राज्यलाई करोडौ कर तिर्ने उद्योग प्रतिष्ठानको संचालक समेत सुरक्षीत नभएकोमा तिब्र रोष प्रकट गरेको छ ।

यस्ता गैर जिम्मेवारपूर्ण पक्राउले समग्र लगानीकर्तालाई हतोत्साहित बनाएको तथा पुरै परिवारलाई नै पक्राउ पुर्जी काटेर एउटा व्यवसायीक घरनाकै बेइज्जती गर्ने काम गरेको भन्दै नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले ब्यवसायिक वातावरणमा नकारात्मक असर परेको जनाएको छ ।

डुइङ बिजनेशको यसै वर्षको प्रतिवेदनमा सुधार आएको भएतापनि निजीक्षेत्रमाथिको आक्रमणले विश्वमा गलत सन्देस जाने पनि उनीहरुको तर्क छ ।

कुनै एक उद्योगीको परिवारलाई नै पक्राउ पूर्जी जारी गरेर सरकारले अबका दिनमा नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश दिन खोजेको समेत संघको भनाइ छ ।

उद्योग बाणिज्य संघ काठमाडौंले ज्योतिको पक्राउको विषयमा विज्ञप्ती नै जारी गरेर चरणवद्ध आन्दोलनमा कार्यक्रम घोषणा गरेको छ । विदेश भ्रमणमा गएको व्यक्तिलाई स्वदेश फर्कदा सिधै एरपोर्टबाट पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको भन्दै विरोधका कार्यक्रम सार्वजनक गरेको छ ।

काठमाडौंले विहीबार न्यूरोड जुद्ध सडमका जम्मा भएको चरणबद्ध विरोधका कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ । बुधबार उद्योग बाणिज्य संघ काठमाठौंको कार्यसमितिको बैंठक बसेर आन्दोलनमा सशक्त कार्यक्रमहरु सार्वजनिक गरिएको पनि संघले जनाएको छ ।


प्रकाशित | २८ कार्तिक २०७६, बिहीबार १०:५४