लकडाउनका बीच नेपालमा भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन

काठमाडौं : भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले अतिक्रमणको विरोधमा जुलुस निकालेको छ ।

भारतीय विस्तारवाद मुर्दावाद । भारतीय हस्तक्षेप बन्द गर ।  लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्दै भक्तपुरमा विरोध गरिएको हो । जुलुसमा सयौको सहभागिता रहेको थियो ।  नेमकिपाका नेता तथा प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाइँले जनता बरू कोरोनाबाट मर्न तयार रहेको तर भारतीय हेपाइ र मिचाइ सहेर बस्न नसक्ने बताउनुभयो ।

त्यस्तै, लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १३:०८