काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिनु भएको छ । थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहनु भएको छ।
संस्थापनइतर समूहबाट थापा सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन हुनु भएको थियो ।
त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहनु भएको छ ।
भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।

प्रकाशित | ५ पुष २०७९, मंगलवार १५:१३