समयमै तलब नपाएको भन्दै आन्दोलनमा उत्रिए नर्स

काठमाडौं: नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न ६ बुँदे माग राखी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित बनेको छ ।

सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा गे्रडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो । केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।

प्रशासनसमक्ष पटक–पटक गे्रडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ संघ एकाइ भक्तपुरकी अध्यक्ष मीना खर्बुजाले जानकारी दिनुभयो । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभयो ।

नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलन गरे पनि आइसियू, आकष्मिक, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा श्रेष्ठले बताउनुभयो । करीब छ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको केन्द्रमा हाल ९६ नर्स कार्यरत छन् ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १२:४४