अलीकती पनि बिचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने छु : बालकृष्ण शिवाकोटी

दोलखा :  नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू पदमा भए पनि नभए पनि दोलखाको विकास र समृद्धिको सपना साकार पार्न लागिपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा झिनो मतले पराजय भोग्नु भएको शिवाकोटीले आम मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहनेछु र सधै जनताको साथमा रहने बताउनुभएको हो ।

चुनाव हारेतापनि अलिकति पनि बिचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने बताउँदै शिवाकोटीले भन्नुभएको छ, ‘मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।‘

लोकतन्त्रिक शासन पद्धतिका निम्ति निर्वाचन नियमित प्रक्रिया भएको बताउनुभयो । ̔राजनीतिक पार्टीहरूका लागि चुनाव आउने आउँछ, जान्छ । संसदीय निर्वाचनमा हार जितलाई स्वभाविक रुपमा लिनुपर्छ । चुनावमा सधैँभरि जीत सधैँ पराजय हुनसक्दैन । प्राबिधिक रुपमा हारेतापनि हामी जनताको मनमस्तिष्कमा बस्न सफल भएका छौँ‘, उहाँले थप्दै भन्नुभयो ।

दोलखामा राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न सफल भएको पनि बताउनुभयो ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की ज्यू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ ।

यस निर्वाचनमा म दोलखामा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकोमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

अनेक दुःख कष्ट सहेर निर्वाचन प्रचारप्रसारमा अहोरात्र खटेर सहयोग गर्नुहुने नेकपा (एमाले) का नेता तथा कार्यकर्ता र सञ्चारकर्मी साथीहरुप्रति म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु ।

लोकतन्त्रिक शासन पद्धतिका निम्ति निर्वाचन नियमित प्रक्रिया हो। राजनीतिक पार्टीहरूका लागि चुनाव आउँछ, जान्छ । संसदीय निर्वाचनमा हार जितलाई स्वभाविक रुपमा लिनुपर्छ । चुनावमा सधैँभरि जीत सधैँ पराजय हुनसक्दैन ।

प्राबिधिक रुपमा हारेतापनि हामी जनताको मनमस्तिष्कमा बस्न सफल भएका छौँ । चुनाव हारेतापनि अलिकति पनि म बिचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने छु । मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।

दोलखामा हामीले राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गरेका छौँ । यस प्रति म निरन्तर प्रतिबद्ध रहनेछु । म पदमा भए पनि नभए पनि जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहनेछु र म यहाँहरुकै साथमा रहनेछु ।
यस स्थितिमा पार्टीका आम कार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु । धन्यवाद ।

बालकृष्ण शिवाकोटी
प्रतिनिधिसभा सदस्य उम्मेदवार
नेकपा एमाले दोलखा


प्रकाशित | १९ मंसिर २०७९, सोमबार २०:३९