पहिलो खेलमै साउदीसँग अर्जेन्टिनाको हार

एजेन्सी -उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।

खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए। तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

यस जितसँगै साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार १७:५७