दोलखामा प्रशासनको मिलेमतोमा बुथ कब्जा गरियो: एमाले

दोलखा : नेकपा एमाले दोलखाले प्रहरी र प्रशासनको मिलेमतोमा गठबन्धन दलले निर्वाचनमा बुथ कब्जा गरेको जनाएको छ । एमालेले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर ४ गते भएको निर्वाचनमा प्रशासनको मिलेमतोमा बुथ कब्जा गरिएको जनाएको हो ।

नेकपा एमाले दोलखाका अध्यक्ष एवम् प्रदेशसभाका उम्मेदवार नरबहादुर श्रेष्ठले आज बिज्ञप्ति जारी गर्दै मतदान केन्द्र रणमैदान बन्दा समेत प्रहरी, प्रशासन मौन बसेको तथा प्रजिअ र डिएसपी स्वयँ गठबन्धनको बुथ कव्जामा सहयोगी बनेको बताउनुभयो।

एमालेले अघिल्ला निर्वाचनमा हिंसाग्रस्त भएको संवेदनशील बुथहरुमा गठबन्धनको तर्फबाट सिफारिस गरिएका मतदान अधिकृत खटाउने काममा सेटिङ भएको र सेटिङको आधारमा डिएसपीले ति बुथहरुमा प्रहरी इन्चार्ज खटाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भुषाफेदा, कालिञ्चोक, भेड्पुको जुकेपानी, वैतेश्वर गाउँपालिकाको १, ३ र ६ मा बुथ कब्जा हुँदा प्रशासन मौन बसेको तथा प्रमुख जिल्ला अधिकारी र डिएसपीले आफ्नो पदिय अधिकारको समेत दुरुपयोग गरेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

मतदातालाई मतदानस्थलमा कुटपिट गरि लखेटेर बुथ कब्जा गरेर लोकतन्त्र र गणतन्त्रको उपहास गर्दै निर्वाचनलाई सत्ताको आडमा घिनलाग्दो बनाएको एमालेले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बुथकव्जा भएको मतपत्र भुईमा छरिएको, एकलौटी भोट हालिरहेको दृश्य र तस्वीरहरुलाई एमालेले सुरक्षा प्रमुखहरुलाई पठाउँदा पनि बेवास्ता गरेको र माथिल्लो निकायमा झुठो विवरण सम्प्रेषण गरेर प्रजिअ र डिएसपीले पदिय अधिकार दुरुपयोग गरेको एमालेको आरोप छ ।

एमालेले दोलखाका मुख्य निर्वाचन अधिकृतप्रति पनि असन्तुष्टि जनाएको छ । मतदानको दिन दोलखाका मतदानास्थलहरुमा बुथकव्जा, ढुंगामुडा र गुण्डागर्दीको घटनाका बारेमा मुख्य निर्वाचन अधिकृतलाई सवै जानकारी भएपनि सो घटनामा कुनै निर्णय नलिई मौनता साँधेको एमालेको आरोप छ । एमालेले बुथ कव्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन माग पनि गरेको छ ।

No description available.

No description available.

प्रकाशित | ५ मंसिर २०७९, सोमबार १८:१७