सहकारी संस्थाले आयमूलक र सिपमूलक क्षेत्रमा काम गर्न आवश्यक छ: बासुदेव थापा, मेयर, सूर्यविनायक

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारी संस्थालाई आयमूलक र सिपमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनु भएको छ ।

सूर्यविनायक नगरपालिका ४ गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नु हुँदै नगर प्रमुख थापाले सहकारी संस्थाको काम बचत संकलन गर्ने, ऋण दिने र लिने मात्र नभई आयमूलक र सिपमूलक क्षेत्रमा काम गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको हो ।

सहकारी संस्थालाई ब्यवस्थित ढंगले चलाउन नगरपालिका लागिपर्ने भन्दै मेयर थापाले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गरिने बताउनुभयो । सहकारीहरु निश्चित मापदण्ड र मूल्य मान्यता अनुसार चल्नुपर्नेमा समेत मेयर थापाको जोड छ ।

‘सहकारी संस्थालाई कस्तो बनाउने भन्ने सहकारी संस्थाका सञ्चालकहरुकै हातमा हुन्छ । हामी सहकारीलाई कुनै अकुंश लगाउँदैनौ । छरिएको पुँजीलाई एकीकृत गराएर संस्था खोल्नु र जनतालाई सुविधा प्रदान गर्नु आफैमा खुसीको कुरा हो’, मेयर थापाले भन्नुभयो, ‘सहकारी संस्था बचत उठाउने, ऋण दिने र लिनेमा मात्र सिमीत भने हुनु हुन्न ।’

उहाँले हरेक क्षेत्रमा नगरपालिकालाई अनुसाशीत बनाएर ब्यवस्थित गर्ने कार्य भइरहेको बताउँदै सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने र ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले पनि बोल्नु भएको थियो ।


प्रकाशित | १३ आश्विन २०८०, शनिबार १९:३४