प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको नवनिर्वाचीत कार्यसमितिलाई एनआरएनएको बधाई

काठमाडौं । गैर आवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पुर्ण चाडवाडको अवसरमा हाल काठमाडौंमा रहनु भएका गैर आवासीय नेपालीहरुसंग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । साथै यस अवसरमा संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रमको अध्यक्षता कार्यकारी अध्यक्ष रविना थापाले गर्नु भएको थियो भने अध्यक्ष डा. बद्री केसीले चियापान कार्यक्रममा सहभागी हुनु भएका गैर आवासीय नेपालीहरु तथा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

डा. केसीले प्रवासी नेपाली मञ्च लगायत विदेशमा रहेको अन्य संघ संगठनहरुले संघको अभियानमा सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नको लागि सहकार्य गर्न अनुरोध गर्नुभयो ।

उहाँले संघले सुरुको अभियान देखी उठाउदै आएको नागरिकता, वैदैशिक रोजगार, मतदानको अधिकार बारे प्रकाश पार्नु भएको थियो । उहाँले गैरआवासीय नेपालीको मुद्दामा सबै राजनैतिक दलका संगठनमा आबद्ध भएर विचार फरक भएपनि सबैजना समान मुद्दामा एकै ठाउँमा आउन अपरिहार्य भएको विचार व्यक्त गर्नु भयो ।

नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका नवनिर्वाचित अध्यक्ष संजय थापाले चियापानमा आमन्त्रण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै गैर आवासीय नेपाली संघ विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था भएको बताउनु भयो ।

उहाँले नेपालको समृद्धि तथा विदेशमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने विषयमा मञ्चले जहिले पनि सहयोग गर्ने बताउनु भयो । राजनैतिक संगठनमा आबद्ध भएपनि संघले गरेका गतिविधिहरुलाई सहयोग गर्न इमान्दारीता प्रस्तुत गर्ने कुरामा जोड दिदै गैर आवासीय नेपाली संघको आइसिसि सदस्यमा नैतिकताको आधारमा पदत्याग गरी बाहिर बसेर सहयोग गर्ने कुरा राख्दै एक उदाहरण प्रस्तुत गर्नु भयो ।

समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले समावेशी आयोगले संचालन गरेका विधिहरु बारे जानकारी गराउंदै नेपालको समृद्धिमा सहयोग गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।

संघका प्रवक्ता सोम सापकोटाले धन्यवाद मन्तब्य दिदै राजनैतिक चेतना भयो भने सामाजिक कार्य गर्न सहज हुने बताउनु भयो । साथै उहांले संघको अभियानमा सहयोग गरेकोमा सबै सरोकारवालहरु प्रति आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा राख्नु भयो ।

कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले आफ्नो अभियानमा उठाउंदै आएको मुल विषयहरु गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, महिला तथा युवा शसक्तिकरण, प्रवासमा बस्ने नेपालीहरुको मतदानको अधिकार लगायतका गतिविधिहरु बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले नेपालको समृद्धिमा सहयोग गर्न विदेशमा रहेका सबै संघसँस्थाहरुलाई आग्रह गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले संघ, सदस्यता अभिबृद्धि गर्ने क्रममा भएकोले यो महाअभियानमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले संघले संचालन गर्ने परोपकारी अभियानमा सबै एक जुट भएर श्रोत संकलन तथा परिचालनमा जोडदिन सके यसले नेपालको समृद्धिमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

कार्यक्रममा संघका सहकोषाध्यक्ष यमुना भट्टराई, अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक पुरुषोत्तम बोहरा, पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, पूर्व आइसिसि सदस्यहरु लगायत विभिन्न मुलुकबाट आउनु भएका गैर आवासीय नेपाली प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन संघका प्रवक्ता शिवकुमार बरुवालले गर्नु भएको थियो । 

This image has an empty alt attribute; its file name is 16-1024x683.jpg


प्रकाशित | २१ कार्तिक २०७९, सोमबार १५:३०