दोलखामा एमालेका उम्मेद्वार कार्यकर्ता भेटघाटमा सकृय

काठमाडौं -मंसिर ४ गते हुने आम निर्वाचनको तयारीका क्रममा नेकपा एमाले दोलखाका उम्मेद्वारहरु दोलखा र काठमाडौंमाा अगुवा नेता–कार्यकर्ता भेटघाटमा सकृय देखिएका छन् ।

२३ असोजमा उम्मेद्वारी दर्तापछि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभा सदस्य क का उम्मेद्वार नरबहादुर श्रेष्ठ र प्रदेशसभा ख का उम्मेद्वार भरतबहादुर केसी चुनावी तयारीको सिलसिलामा आन्तरिक भेटघाट र सुझाव लिने काममा सकृय बन्नुभएको हो । उम्मेद्वारद्वय शिवाकोटी र श्रेष्ठ काठमाडौंमा भेटघाट र प्रारम्भिक तयारीको काम सकेर जिल्ला फर्किनुभएको छ भने अर्का उम्मेद्वार केसी जिल्लास्थित सदरमुकाम चरिकोट, भीमेश्वर नगरपालिका र आसपासका पालिकाहरुको चुनावी तयारी र योजनाका कार्यक्रमहरुमा सहभागी हुनुभएको छ ।

No description available.

चुनावी तयारीको सिलसिलामा नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको बिस्तारित बैठकमा बोल्दै पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलले दोलखाको चुनावी तयारी र मतदातालाई जिल्ला फर्काउने अभियानमा सकृय हुन मञ्च आबद्ध नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै, अर्का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभाका निवतर्मान सांसद पार्वत गुरुङले नेकपा एमालेको नेतृत्वको सरकारले राष्ट्रियता, समृद्धि र विकासका सन्दर्भमा खेलेको भूमिका विजयको आधार रहेको बताउनुभयो । उहाँले समृद्ध दोलखा निर्माणको आधार एमालेले तयार गर्दै आएकाले त्यसलाई पूरा गर्न प्रस्तावित नयाँ उम्मेद्वारहरुलाई दोलखाली जनताले विश्वासका साथ मतदान गरेर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

No description available.

प्रतिनिधिसभाका उम्मेद्वार शिबाकोटीले एमालेले कामबाटै दोलखाली जनताको मन जित्दै आएकाले समृद्ध दोलखा निर्माणका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दोलखामा एमालेले भारी मतान्तरले जित्दै आएकाले सत्तारुढ गठबन्धनको पराजय निश्चित रहेको भन्दै तदनुरुपका तयारीसहित अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । एमाले दोलखाका अध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य क का उम्मेद्वार श्रेष्ठले पार्टी जिल्ला कमिटी र सम्पर्क मञ्चले समन्वयात्मक ढंगले चुनावी तयारीका काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, केन्द्रीय लेखा आयोगका सदस्य शान्ती पाख्रिन, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल भूतपूर्व सैनिक प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, जनवर्गीय संगठनका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु, एमाले वागमती प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका सल्लाहकारहरु, सम्पर्क मञ्चसँग सम्बन्धित पूर्व पदाधिकारीहरुलगायत करिब ५ सय सहभागी हुनुहुन्थ्यो ।

No description available.

बैठकलगत्तै एमाले दोलखाले चुनावसम्बन्धी विभिन्न योजनाहरु निर्माण गर्दै १ हजार १ सदस्यीय चुनावी परिचालन कमिटी गठन गरेको छ ।


प्रकाशित | २९ आश्विन २०७९, शनिबार ११:१७