नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयी सुरुवात

काठमाडौँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनएले विजयी सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले विजयी सुरुवात गरेको हो ।

एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो ।

वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाईएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने कप्रण राजु रिजालले ११ रन जोडे । बसन्त खत्री १० रनमा आउट भए ।

एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले ३र३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो ।

एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए । कप्तान सुनाम गौतमले २४ रन बनाएका थिए । सुदूरका हेमन्त धामी र शेर मल्लले २र२ विकेट लिए । यस जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ ।

सुदूरले भने हारबाट प्रतियोगिताको सुरवात गरेको छ । प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको छ ।

वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो। त्यस्तै मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

एनआरएनएद्धारा बधाई ज्ञापन

सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयीको सुरुवात गरेकोमा गैर आवासीय नेपाली संघले खुसी ब्यक्त गरेको छ ।

‘संघको तर्फबाट क्याप्टेन सुनाम गौतम लगायतका खेलाडीहरुले विदेशमा बसेर पनि राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिई नेपालको खेलकुद क्षेत्रको विकासमा खेल मार्फत पुर्‍याएको योगदानको कदर गर्दछौं’, एनआरएनए जारी विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, अध्यक्ष कुल आचार्य पनि एक सन्देश जारी गर्नुहुँदै आगामी खेलमा पनि विजयको शुभकामना व्यक्त गर्नु भएको छ ।

‘यो खेल मात्र होइन दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुको भावनात्मक सम्बन्ध विकास गर्ने कडी पनि हो, अध्यक्ष आचार्यले भन्नु भएको छ, यसको विकासको लागि खेलकुद मार्फत गैरआवासीय नेपाली संघले योगदान गर्ने नै छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं । आजको खेलमा उपविजेता टिमलाई समेत शुभेच्छा व्यक्त गर्दछौ ।’


प्रकाशित | २३ भाद्र २०७९, बिहीबार १८:०१