कोरोना महामारी: नआत्तिऔ, घरभित्रै बसौ, सङ्कटका काला बादल अवश्य हटेर जानेछ

लक्ष्मी गौतम/हेटौडा

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । विश्वका शक्तीशाली मुलुकहरु समेत कोरोना भाइरस विरुद्धको लडाई लडीरहेका छन् । सबैभन्दा पहिला कोरोना भाइरस फैलिएको चीनले कोरोना विरुद्धको युद्धमा सफलता हात पारिसकेको छ । यद्यपी चुनौती अझै बाँकि छ । विश्वका शक्तीशाली मुलुकहरु अमेरिका, इटाली, स्पेन, बेलायत जस्ता देशमा कोरोनाको महामारी फैलने क्रम जारी छ । विश्वभरि अहिलेसम्म मृतकको संख्या लाख पुग्न लागिसकेको छ ।

यस्तो बेला कोरोना के हो ? यो कसरी सर्छ र यसको उपचार विधी के हो ? भन्ने जस्ता कुरामा अधिकांश जनताहरु सचेत हुनैपर्छ । नेपालमा आज १७ दिनदेखि लकडाउन जारी छ । कोरोना भाइरसको मुख्य औषधि भनेको नै घरभित्रै सुरक्षीत बस्ने हो । यो रोग फैलनुको मुख्य कारण घरबाहिर निस्केर विभिन्न ब्यक्तीहरुसँग घुलमिल हुँदा नै हो । त्यसैले विश्वभरि कोरोना महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा अत्यावश्यक कामबाहेक घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । कोरोना आफैमा सर्दैन तर घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा हामीले बुझनुपर्छ । किनकी हामी एक जना मात्र घरबाहिर निस्केर त्यो रोग ल्यायौ भने त्यसले घरपरिवार सबैलाई सार्छ । त्यसकारण तपाई एक जनाको गल्तीले घरपरिवारको अन्य सदस्यलाई पनि रोग सार्ने काम नगर्नुहोला । यो रोग लागीसकेपछि तपाई जतिसुकै आर्थिक सम्पन्नता भए पनि केहि हुनेछैन । त्यसैले सबैभन्दा ठूलो कुरा रोग लाग्न नदिनु र आवश्यक सावधानी अपनाउनु नै हो ।

लकडाउन लामो समयसम्म हुँदा घरभित्रै बस्न पट्यार पनि लागिरहेको हुन सक्छ । तर ज्यान भन्दा ठूलो कुरा अरु केहि हुन सक्दैन भन्ने तपाईले बिर्सन हुँदैन । घरभित्रै बसेर पनि २४ सौ घन्टा सामाजीक सञ्जाल र समाचार हेर्न अनलाइनमा मात्र नबसी घरपरिवारका सदस्यहरुसँग हाँस्ने, रमाउने, हसाउने, मनोरञ्जन गर्ने, रचनात्मक काम गर्ने बानी बसाल्नुपर्छ ताकी दिमागलाई फ्रेस बनाइ राख्न सकियोस । तर सधैभरि सामाजीक सञ्जालमा मात्र झुण्डीदाँ त्यसले मानसिक स्वास्थ्यमा असर पर्न सक्नेतर्फ सचेत हुनुपर्छ । अहिलेको विश्वभरिको मुख्य समाचार भनेकै कोरोना भाइरस भन्दा छैन । समाचार हेर्न थाल्यो यो देशमा यती संक्रमण यतीको मृत्यु भयो भन्ने भन्दा अरु छैन । त्यसैले दिनमा केहि समय सामाजीक सञ्जालमा रहने, केहि समय समाचार हेर्ने र अन्य सबै समय अन्यत्र नै लगाउनुस ताकी तपाईलाई घरभित्रै बस्नुपर्दा तनाव नहोस । सधैभरि नकारात्मक समाचार मात्र पढ्दा तपाईको मानसीक स्वास्थ्यमा असर पर्छ । तपाई अन्य रोगबाट पीडित भइरहनु भएको छ भने पनि तपाईको रोगसँग लड्ने क्षमतामा ह्रास आउँन सक्छ ।

लामो समय लकडाउन भइरहँदा श्रमगरि खाने मजदूर, गरिव तथा पीडित समुदायलाई छाक टार्न पनि अप्ठ्यारो भइरहेको अवस्था छ । यो अवस्थामा सक्नेले आर्थिक अवस्था कमजोर भएका र एक छाक टार्न कठिन अवस्थामा रहेकालाई सहयोग गर्दै सबैले मानवीय भावनाले काम गर्नुपर्ने देखिन्छ । तपाईको सानो सहयोग पनि यो बेलामा ठूलो सहयोग हुन सक्छ । तपाई हामी जहाँ बसे पनि सकेको सहयोग गर्न सकिन्छ । त्यसैले यो बेला आफू पनि बाँच्दै अरुलाई पनि बचाउनु सबैभन्दा ठूलो हो ।

अन्तमा सबैमा के अनुरोध गर्न चाहान्छु भने यो संकटको बेलामा आफूले सकेको ठाउँबाट सक्ने र खान समेत नपाउने अवस्थामा रहेका पीडीतलाई सहयोग गर्दै कोरोना विरुद्धको यो युद्धमा विजयी हुन घरभित्रै बसौ, आवश्यक सावधानी अपनाऔं, आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ, आशा गरौ चाँडौ संकटका काला बादल अवश्य हटेर जानेछ । धन्यवाद ।


प्रकाशित | २८ चैत्र २०७६, शुक्रबार २०:४१