संस्कृतिलाई बुझ्ने दृष्टिकोण र नेपाली आप्रबासी संस्कृतिबारे

  डिल्ली अम्माई /बेल्जियम

 संस्कृतिबारे विश्व दृष्टिकोण :

आर्थिक धरातल र राजनीतिमा जुन–जुन वर्गको वर्चस्व हुन्छ, संस्कृतिमा पनि त्यही–त्यही वर्गको प्रभुत्व हुने गर्दछ । चिन्तन प्रणाली सही र सशक्त नभईकन समुदायको जीवन प्रणाली सही र सशक्त हुनै सक्तैन । त्यसले सांस्कृतिक रुपान्तरणको अन्तिम कडी दर्शनसंग ठोकिन आउँछ। विश्व दर्शनका दुई भेदमद्धे जसको बर्चस्व अधिक रहन्छ उसैले निर्माण गरेको संस्कृतिको प्रभाव धेरै हुन्छ। अहिले विश्व अर्थ ब्याबस्थामा भू मंडलिकृत पुँजीबादी अर्थतन्त्रले  निर्माण गरेको उपभोक्ताबादी संस्कृतिले विश्व समुदायका मौलिक पहिचानहरु निल्ने क्रम बढेर गएको छ। यसलाई रोक्न वर्ग सापेक्ष अर्थ प्रणालीमा नै हस्तक्षेप गर्नुको विकल्प हामीसंग हुँदैन। संसारभरबाट आर्थिक वर्ग विभेद समाप्त पार्न जति कठिन छ,त्यो भन्दा बढी कठिन पुरानो संस्कृति समाप्त पारेर नयाँ संस्कृति बनाउनु हुन्छ । हामीले वैज्ञानिक सामाजिक चेतना र  उदात्त आदर्शसित जोडेर मानव जातिका संस्कृतिहरुलाई उठाउनुपर्दछ ।

एङ्गेल्सले भनेका छन्, ‘भौतिक जीवनको उत्पादन प्रणालीले जीवनको समग्र सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निर्धारण गर्दछ । मान्छेको चेतनाले उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु यसको साटो उसको सामाजिक अस्तित्वले नै उसको चेतनालाई निर्धारण गर्दछ ।’

सांस्कृतिक आन्दोलनको दिशा राजनीतिक आन्दोलनात्मक दिशासित अभिन्न रूपमा जोडिएको हुन्छ जुन सांस्कृतिक रूपान्तरणसित पनि जोडिएको हुन्छ । सांस्कृतिक आन्दोलनको दिशा निर्धारणमा समकालीनताका परिवर्तनकारी विशेषताहरू महत्वपूर्ण हुन्छन् । समकालीनता भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादसँग गाँसिएको छ ।

तसर्थ संस्कृति रुपान्तरणलाई डायस्पोरासंग जोडेर हेर्ने भुल हामीले गर्नु हुँदैन। यसलाई भाषा,संस्कृति र मानव सभ्यताले सृजना गरेका सांस्कृतिक बिरासतमा आर्थिक प्रणालीले चेतनाको तहमा पारेको प्रभावसंग जोडेर हेर्नु पर्छ। रूपान्तरणसम्बन्धी त्यस युगका बारेमा स्वयम् त्यस युगको चेतनाका आधारमा नै समाजका उत्पादन–शक्तिहरू र उत्पादन–सम्बन्धहरूको वर्तमान टक्करका आधारमा नै यस किसिमको चेतनाको व्याख्या गरिनुपर्दछ ।’कुनै खास संस्कृति, कुनै खास समाजको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्बन हो भनेर नबुझी सांस्कृतिक आन्दोलनको प्रबाहलाई बुझ्न सकिन्न ।

आँफुसहित अरूलाई फेर्ने एवम् आग्रहभन्दा आचरणलाई जोड दिने सांस्कृतिक आन्दोलनलाई परिस्कृत गर्दै,पुरानो सोच्ने तरिकालाई  भित्रबाटै रूपान्तरित गरेर नयाँ मानवमा बदल्नु नै अबको सांस्कृतिक बाटो हुनु पर्छ। सांस्कृतिक दिशा भनेको सांस्कृतिक नीतिहरूको गोरेठो हो । यो राजनीतिक दिशासँगै हुइँकिरहेको हुन्छ । हामीले सांस्कृतिक नीतिहरूहरूको शृङ्खलालाई व्यवस्थित गर्नुपर्दछ । हामीकहाँ विद्यमान दलाल संस्कृति र सामन्ती संस्कृतिका अवशेषहरू जब्बर छन् । त्यसलाई डायस्पोराबाट समेत चिर्ने प्रयास जारि राख्नु जरुरि छ। डायस्पोरामा हाम्रो भाषा,हाम्रो रहन सहनका परिचयात्मक धारा,हाम्रो दार्शनिक प्रभाव,साहित्यिक अभियानलाई समुदायसंग जोड्ने कला,ऐतिहाँसिक बिरासतका आयामहरु र सांस्कृतिक बिबिधताका बैज्ञानिक बिशेसताहरु जोगाउदै धर्मलाई संस्कृतिबाट अलग्याएर बुझ्नु आजको अर्को कर्म हो।

निःसन्देह द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै सांस्कृतिक आन्दोलनको विश्वदृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको कुनै पनि लेखक–साहित्यकारले के लेख्ने, किन लेख्ने, केका लागि लेख्नेजस्ता प्रश्नहरूको समष्टि पनि हो ।  कला–साहित्य जनताका लागि, परिवर्तनका लागि, रूपान्तरणका लागि हुनुपर्दछ भन्ने कुरालाई समेत हामीले हेक्का राख्नु जरुरि हुन्छ ।

 महिलाहरुलाई बस्तुकरण गर्दै नाङ्गो पारेर कृत्रिम शुन्दरताको नाममा बिक्रिकालागी दोकान सजाएर बिज्ञापन गर्ने,पुरुस सत्ता आडम्बर अंगाल्ने,अन्तरजातीय विवाहहरूलाई घृणा गर्ने,आत्म–सुखवादी चिन्तनलाई प्रशय दिने,संस्कृतिका मुख्य सारहरुलाई धर्मसंग जोड्ने,पौरख भन्दा भाग्यमा भर पर्ने,ब्याक्तिगत लाभको स्वतन्त्रतालाई अधिक महत्व दिने र ब्याक्तिको महिमा गाउने विकृत संस्कृति र सौन्दर्यचिन्तनमा रुपान्तरण गर्नै पर्छ। 

अस्तित्वको लागि संघर्षमा जीव जगतसंग बाँच्नको लागी पछाडी घसेटिनु,बिचमा अल्झिनु र अगाडी बढ्नु मात्र तीन वटा बिकल्प हुन्छ। मानिसको सन्दर्भमा पनि त्यहि कुरा सत्य हो। गतिको नियमको उल्टो यात्रा गर्नेहरु सकिन्छन ,बिचमा रहनेहरुले जिवनमा कहित्यै प्रगति गर्न सक्दैनन् र चुनौतिको सामाना गरेर अगाडी बढ्नेहरुले प्रगति गर्दछन। समाज बिकासको सन्दर्भमा राजनीतिको प्रार्दुर्भाव हुनु भन्दा पुर्व नै संस्कृतिको बिकास भएको मानिन्छ। त्यसैले मानिस आफ्नो सांस्कृतिक पहिचानलाई बिकास गर्ने सन्दर्भलाई अत्यान्त रुचिपूर्वक चासो राख्छन। ईतिहाँसको क्रमभंगमा यसले बिकास गरेका आयामहरुलाई जुन मानव समुदायले अगाडी बढाउँन सिके ति संस्कृतिहरु अहिलेसम्म अस्तित्वमा छन्। जसले आफ्ना साँस्कृतिक मुल्यमान्यतालाई समयानुकुल अगाडी बढाउन सकेनन ति पहिचानहरु हराएर गए।

अहिले हामी नेपाली डायस्पोराको अत्यान्त अल्पमतमा रहेर बेल्जियममा आफ्नो सांस्कृतिक रक्षाको लागि संघर्षरत छौँ। हामी साँस्कृतिक रुपमा यहाँपनि निरपेक्ष भएर बस्न सक्दैनौँ। यहाँ नेपालको तुलनामा आफ्नो संस्कृति रक्षाका चुनौती कठिन छन्। आफ्नो मौलिकता रक्षा गर्ने सन्दर्भमा नेपाली डायास्पोराले बेल्जियमकै अनुकुलतामा हाम्रो संस्कृतिका मूल बिशेषताहरुलाई बचाउन सक्छौं। यहाँ हाम्रा बाटाहरु पनि अरु क्षेत्रमा जस्तै तीनवटा नै  छन् । पहिलो बाटो अगाडि बढ्ने, दोस्रो बाटो बिचमा बस्ने र तेस्रो बाटो पछाडि फर्कने । पछाडि फर्किन्छौ भने हामि सिद्धिन्छौं र हाम्रो मूल्यमान्यता अर्को पिंढीलाई हस्तान्तरण गर्न सक्दैनौँ, पहिचानको मामुलामा निरपेक्ष बस्छौं भने पनि हामी सिद्धिन्छौं तर सह-अस्तित्वको अबधारणा अनुशार मौलिकताको रक्षा गर्ने अथक कोसिस गर्दै अगाडि बढ्दा मात्र हामी आफ्नो पहिचानलाई बचाउँन सक्छौं र बिशाल अन्तराष्ट्रिय सामूदाय भित्र हामी आफ्नै सभ्यताका बिशेसता सहित बाँच्न सक्छौं।  सांस्कृतिक पहिचान बचाउने सन्दर्भमा पनि यो नै सही बाटो हो ।

हाम्रा संस्कृत भित्र केहि अफवाहहरु पनि छन्,केहि रुढीग्रस्त सोच र चिन्तनहरु पनि छन् र केहि अत्यान्त सामान्तबादी मनो-चिन्तनबाट संस्कृतिमा जोडिन पुगेका अन्धविश्वास तथा जातीय विसंगतिहरु पनि छन्। ति सबै छोड्नुको बिकल्प हामीसंग छैन। हामीमा आफ्नो भबिश्य देख्न नसक्ने तर अरुको भविष्यलाई त्रिकालदर्शीले झैँ बताउने एक अबैज्ञानिक पद्धति छ। धर्मको नाममा बर्णाश्रम विभेदकारी संस्कृति,धर्मको आड लिएर विकृत रुपमा समाजलाई गाँजी रहेको छ। पहिचानको आडमा त्यसलाई प्रशय दिनु हुँदैन। त्यसै सन्दर्भमा पुर्बिय समाजमा एउटा हुसे फिरात नामका कथित ज्योतिषको प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक होला।

… हुसे फिरात नाम गरेका राजज्योतिषी ताराको गति, दिशा र प्रभाव अध्ययन गर्दै गर्दा झुक्किएर इनारमा खस्न पुगेछन् । रातभर उनले जति प्रयास गरे पनि बाहिर निस्कन सकेनछन् । बिहानीपख पानी लिन गएका पँधेर्नीहरूले देखेर डोरीको सहायताले बडो मिहिनेतका साथ ती ज्योतिषीलाई इनारबाट निकालिदिएछन् । इनारबाट बाहिर आएपछि ती ज्योतिषीले फुर्तीफार्तीका साथ भनेछन्, “म फराओ अखनातेनको त्रिकालदर्शी राजज्योतिषी हुँ । युद्धमा जाँदा वा शुभकार्य गर्दा हरेकचोटि फराओले मैसँग मुहूर्त निकाल्ने गर्छन् । तिमीहरूले मेरो उद्धार गरयौ । भन, तिमीहरूलाई म के दिऊँ ?” एकछिन त ज्योतिषीको कुरा सुनेर पँधेर्नीहरू ट्वाल्ल परेछन् । केहीबेरपछि एक पँधेर्नीले भनिछन्, “तिमी को हौ ? के गर्छौ ? त्यो त हामीलाई थाहा छैन तर एक पाइला सामुन्नेको इनार पनि नदेख्नेले अरूको के भविष्यवाणी गर्न सकौला ? के दिन सकौला ? पहिला आँफु अगाडिको वस्तु ठम्याऊ अनि मात्र अर्काको भविष्यवाणी गर !” हाम्रो सन्दर्भमा पनि त्यो कुरा लागु हुन्छ।त्यसैले अन्धविश्वास र कर्मकाण्डी आडम्बर त्याग्न पधेर्नी आमाहरुले दिएको सल्लाहलाई गहन रुपमा मनन गर्दै सांस्कृतिक पहिचान भित्रबाट के लिने के त्याग्ने ? आँफैले बिशेष मनन गर्नु आजको आबश्यकता हो।

बेल्जियमको सांस्कृतिक कालक्रमको शुक्ष्म विश्लेषण :-

परापूर्वकालमा बेल्जियम एक धर्म र क्रिश्चियन संस्कृति भएको मुलुक भएपनि आधुनिक बेल्जियम क्रमश बहुसाँस्कृतिक,बहुभाषिक र बहुधार्मिक मुलुक हुँदै गएको छ । यो देशलाई बहुसाँस्कृतिक मुलुकमा बदल्ने श्रेय बिशेष गरेर आप्रबासीहरुमा जान्छ। बेल्जियमको कुल जनसंख्या ११,७७८,८४२ मद्धे झण्डै २४% जनसंख्या आप्रबासी छन् । संसारमा भएका हरेक समुदायले आफ्ना आफ्ना सभ्यताका बिरासतहरु लिएर बेल्जियममा आप्रबाशि जीवन बिताईरहेका छन्। संस्कृति छोटो समयमा निर्माण हुने बिषय हैन।

कुनै पनि समुदायका सभ्यताको एक लामो शृंखलाले मूल्य,मान्यता र संस्कृतिको निर्माण गरेको हुन्छ।त्यसैले समुदायका मानिसहरूको जीवन पद्धतिबाट सृजित मूल्य,मान्यता र पद्धति नै बास्तवमा संस्कृति हो । यसर्थ,समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका,प्रविधि लगायतको सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूपलाई संस्कृति भन्न सकिन्छ। बसाईसराइ गरेर बेल्जियम आएका आप्रबासीहरुले आफ्नो देश त्यागे,घर त्यागे र नाता सम्बन्धको लगावलाई आंशिक रुपमा त्यागेपनी सांस्कृतिक मुल्यलाई बेल्जियममा समेत बचाएर राखेका छन् ।

संस्कृति भनेकै मानवले आफ्नो दैनिक जीवन प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य मान्यता, प्रथा, भाषा, रीति रिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो जुन अजैविक हुन्छ र ति मुल्यामान्यताहरु निरन्तर अर्को पुस्तामा हस्तान्तरित हुँदै जान्छन् । बसाइसराइले सांस्कृतिक लगाव र प्रभावलाई खासै असर गर्दैन।

सांस्कृतिक बिबिधताबारे(About cultural diversity) :

साँस्कृतिकरुपले बेल्जियमको समाज संसार भरिका सभ्यताहरुको एक जीवित सङ्ग्रहालय हो। सांस्कृतिक विविधता राज्य र राष्ट्र निर्माणका लागि एक महत्त्वपूर्ण पक्षको रूपमा भएकोले राज्यले यो क्षेत्रमा लगानी गर्दछ। सामाजिक सांस्कृतिक विविधताको सन्तुलित व्यवस्थापन राष्ट्रिय एकता र विकासको लागि समेत अनिवार्य मानिन्छ । समुदायको सबैभन्दा संबेदनशिल मुद्धा सांस्कृतिक पहिचान (भाषा सहित) भएकोले संसारका प्रगतिशील देशहरुले अरुका सामुदायिक मुल्यमान्यतालाई सम्मान गर्ने नीति लिएका हुन्छन। बेल्जियममा पनि यहाँको सरकारले विश्वका सांस्कृतिक बिशेसतालाई सम्मानपुर्वक पग्लिने भाँडोमा राखेर सामुहिक मूल्य सहितको संस्कृति निर्माणको दिशा लिएको छ। पग्लिने भाँडो भन्नाले विस्वका सबै सांस्कृतिक बिशेषता सहितको नयाँ संस्कृति निर्माण भनेर बुझ्नु पर्दछ।

हामी नेपाली डायस्पोराको रुपमा पूर्वीय सांस्कृतिक पहिचान सहित बेल्जियममा बसिरहेका छौँ। यहाँ बसेको नेपाली समाजबीच पहिचान रक्षा सम्बन्धि आफ्नै जटिलता र बाध्यताहरू छन्।भोलिको हाम्रो संस्कृति पहिचान बेल्जियमको पग्लिने भाँडोमा मिसिएपछि कुन रुपमा आफ्ना बिशेषताहरु बचाउन सक्ला,त्यसको पुर्व अनुमान गर्न सकिदैन । तर हामीले आफ्नो पहिचानको रक्षाका सन्दर्भमा बेल्जियमको साँस्कृतिक संरचनाको साथै सांस्कृतिक नीति तथा सांस्कृतिक विविधताका मुलभुत पक्षहरुलाई तुलानात्मक रुपले बुझ्नु आबश्यक हुन्छ। बिषेशत तिनै सांस्कृतिक मुद्धा र चासोबारे  छलफल गर्ने मनसायले यो आलेख तयार पारिएको हो।

बेल्जियमको आन्तरिक सांस्कृतिक परिवेशबारे(About the internal cultural environment of Belgium) :

बेल्जियममा आदिम कालदेखि बसोबास गर्दै आएका मुल आदिबासीलाई बेल्जियन पृष्ठभूमि भएका बेल्जिक भनिन्छ । बेल्जियममा अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा ७,७५३,०००(सतहत्तर लाख त्रिपन्न हजार )जना अर्थात कुल जनसंख्याको ६७.३% बेल्जिक आदिबासी रहेका छन् भने विदेशी पृष्ठभूमि भएका बेल्जियनहरू २,३२०,३८५ जना अर्थात कुल जनसंख्याको २०.१%बसोबास गर्दछन। त्यस्तै यहाँको बसाइको अनुमति प्राप्त गैर-बेल्जियनहरू १,४४७,८५३ जना अर्थात कुल जनसंख्याको १२.६%रहेको आँकडा देखिन्छ।

धर्मलाई आधार मानेर हेर्दा बेल्जियमका ५८%,मानिसले रोमन क्याथोलिक धर्म मान्दछन। जम्माजम्मी १४%बेल्जिक जनताले बिबिध प्रकारका क्रिस्चियन, मुस्लिम,हिन्दु,बुद्धिष्ट र अन्य अल्पसंख्यक धर्म मान्दछन। बेल्जियममा बसोबास गर्ने सम्पूर्ण जनसंख्याको २७% नास्तिक वा गैर-विश्वासीहरू रहेको पछिल्लो जनगणनाले पुष्टि गरेको देखिन्छ।

बेल्जियममा बसोबास गर्ने आप्रवासीहरूमद्धे सबैभन्दा ठूलो समूह इटालियनहरूको हो। यहाँ जम्माजम्मी ४५०,००० भन्दा बढी उनीहरुको संख्या रहेको छ, जुन बेल्जियमको कुल जनसंख्याको ४% भन्दा बढी हो। मोरक्कन दोश्रो -सबैभन्दा ठूलो मुस्लिम धार्मिक समूह मानिन्छ। स्मरण रहोस,सन् १९३० सम्म बेल्जियमको वालोनिया औद्योगिक शहरमा जम्माजम्मी ६,००० मोरक्कनहरू कामको लागि आएका थिए। अहिले झन्डै ६ लाख भन्दा बढी मोरक्कन बेल्जियममा बसेको देखिन्छ।

बाँकी अल्पसंखिक आप्रबासी समूहहरुमा टर्किस,कुर्द,डच,फ्रेन्च,पोर्चुगिज,स्पेनिश,ग्रीक,बोस्नियाक,अल्जेरियन,कङ्गोली,भियतनामी,पोल,भारतीय र गिनीहरू रहेका छन्। अन्य अल्पसंखिकहरुमा नेपाली,पाकिस्तानी,बंगाली,चाइनिज,मंगोलियन,थाई,दक्षिण अमेरिकाली लगायत झन्डै विश्वका अधिकांश देशहरुका नागरिक बेल्जियममा बसोबास गर्दछन,ति मद्धे कतिपयलाई सरकारद्वारा गरिने जनगणनामा अल्पसंख्यक साँस्कृतिक समुहको रुपमा मान्यता दिइएको छैन।

यहाँका प्रतेक संघिय राज्यभित्र भाषिक तथा सांस्कृतिक भिन्नताले आप्रबासीहरुलाई असर नगर्ने कुरै भएन। बेल्जियमको राजधानी शहरमा त्यहाँको स्थानीय सरकारले अरु राज्यको तुलनामा भिन्न भाषिक नीति अँगालेको देखिन्छ। त्यहाँ फ्लामिस र फ्रेन्च दुवै भाषालाई अफिसियल भाषाको मान्यता दिइएको छ भने युरोपियन संसदमा अंग्रेजी भाषा प्रथम भाषाको रुपमा बोलिन्छ र त्यसपछि फ्रेन्च र इटालियन र स्पेनिस आउँछ। त्यहाँ बस्ने आप्रबासिले डच र फ्रेन्च दुवै भाषा सिक्नु पर्ने बाध्यता छ। 

ब्रसेल्समा कति मान्छेले फ्रान्सेली भाषा बोल्दछन,यकिन गरेर भन्न गाह्रो छ, तर एक अनुमान अनुसार ब्रसेल्समा बस्ने ८५% मानिसहरूले फ्रान्सेली र १०% मानिसहरुले डच मातृभाषा वा सम्पर्क भाषाको रूपमा प्रयोग गर्छन्, जबकि त्यहाँ आफ्नो समुदायबीच अरबी भाषा पनि ठूलो मात्रामा बोलिन्छ। 

बिबेचना: इतिहाँसका पुराना दिनहरुमा बेल्जियम भाषिक रुपमा भिन्न भएपनि धार्मिक आस्था र सामाजिक मूल्य मान्यतामा ठुलो भिन्नता थिएन। प्राय सबैले रोमन क्याथोलिक धर्म मान्दथे। सन् १९३०को दशक पछि बेल्जियममा आप्रबासीहरुको जनसंख्या बढेसँगै यहाँको सांस्कृतिक विविधताको नीतिहरूमा सुधार हुँदै आएको देखिन्छ। अन्तराष्ट्रिय आप्रबासी सन्धिले तोकेको आप्रबासी अधिकारका मापदण्डहरुलाई समेट्नु पर्ने निर्देशन सहित सन् १९७० देखि बेल्जियमको केन्द्रीय सरकारले स्थानिय सरकारलाई सांकृतिक अधिकार प्रत्यायोजन गर्यो। फलस्वरूप,फ्लान्दर्स र फ्रान्कोफोन क्षेत्रले क्रमिक रूपमा भिन्न आप्रबासी नीति नियमहरू विकास गर्दै गएका हुन् । केन्द्रिय सरकारद्वारा संबिधानमा संसोधन गर्दै जाँदा सबैलाई समानरुपले सम्बोधन गरिएपनि पहिचान रक्षाको नियमन नीति स्थानिय सरकारलाई हस्तान्तरण गरेपछि ब्याबहारमा बिबिधता देखा पर्यो।यसर्थ सांस्कृतिक विविधता सम्बन्धि नीतिहरूको अलग अलग प्रकारले वर्णन गरेर यहाँका स्थानिय सरकारहरुले “बेल्जियन सांस्कृतिक विविधताको विरोधाभास”लाई बढाइरहेको अबस्था प्रष्ट देखिदै आएको छ।

उता वालोनितिर पनि नास्तिकहरुको बहुमत भएकोले धर्म र संस्कृतिलाई खासै चासो दिएको देखिन्न। त्यस्तै फ्लांदरमा अन्ध राष्ट्रबादीहरुको रेसिजमका कारण आप्रबासी अधिकारलाई मिच्ने काम पहिलेको तुलनामा बढेर गएको छ। दुवै भाषिक क्षेत्रको यस्तो अबस्थालाई अल्पसंख्यकको अधिकार र अधिकारलाई नरुचाउने राजनैतिक ब्याबहारबिचको विरोधाभाष भनिएको हो।

हामीले बेल्जियमको संघीयता, आप्रवासन समस्या, सांस्कृतिक विविधता सम्बन्धित नीतिहरू, ब्यबहारिक प्रयोग र त्यस भित्रको अन्तरविरोधलाई नबुझिकन यहाँको सामाजिक तथा सांस्कृतिक अबस्थाको आगामी परिणाम निहार्न सक्दैनौँ। बेल्जियममा स्थाईरुपले बसोबास गरेको नेपाली डायस्पोरा अहिलेपनि राज्यलाई आफ्नो पहिचान रक्षाबारे हस्तक्षेप गर्ने हैसियतमा छैन। हाम्रो अबस्था नेपाली समुदायकै आन्तरिक पहलमा आफ्नो पहिचानबारे बढी संबेदनशिल हुनुको अर्को बिकल्प देखिन्न। अहिलेदेखि नै हामी सचेत नहुने हो भने सांस्कृतिक अन्तरघुलनको समस्या तथा जटिलताले नेपाली मुलका साँस्कृतिक अल्पसंख्यकहरुलाई भोलि पहिचान बिहिन बनाएर फिजीका नेपालीको हालतमा पुर्याउन सक्छ। यो सवाल नेपाली पहिचान रक्षाको सवालमा गम्भीर रुपमा हाम्रा अगाडी उभिएको छ।

बेल्जियमको मुलभुत सांस्कृतिक चरित्र र नीतिगत ब्यबस्था(The basic cultural character and policy of Belgium) :

सन् १९७० पछि बेल्जियम केन्द्रिकृत एकात्मक राज्य प्रणालीबाट जटिल, संघीय राज्यको रूपमा विकसित भएको देश हो। बेल्जियमभित्र रहेका मुख्यतया दुई भिन्न भाषिक सांस्कृतिक समुदायहरूबिचको चरम अन्तरविरोधको कारण यो देश एकात्मकबाट संघात्मक भएको हो। अहिले यहाँभित्र रहेका प्रत्येक संघले आँफुलाई अधिकतम रुपले अधिकार सम्पन्न बनाएका छन्। अन्य क्षेत्रमा जस्तै साँस्कृतिक क्षेत्रमा पनि संघिय र स्थानिय तहमा आफ्ना आफ्नै संबिधान प्रदत्त कानुनि र कार्यकारी अधिकारहरू छन्। भन्नाले बेल्जियमका सबै संघिय राज्यहरुले आफ्ना क्षेत्रमा बोलिने गरिने भाषाको प्रयोग सम्बन्धमा, अपनाइने धर्म र सांस्कृतिक (कलात्मक) नीति निर्माण गर्ने देखि लागु गर्ने सम्बन्धमा संबैधानिक रुपमा स्वायत्त अधिकार प्राप्त गरेका छन् । उनीहरुका आप्रवासी एकीकरण नीतिहरू, जसले क्षेत्रीय प्रशासनमार्फत भाषिक, धार्मिक र साँस्कृतिक विविधतालाई व्यवस्थापन गर्ने तरिकाहरूलाई समेत स्वायत्तता प्रदान गरिएको छ।

बिभिन्न अबरोध र अन्तरसंघर्षको शृंखला पार गर्दै बेल्जियमका संघिय सरकारहरुले सन्१९८० देखि, देशको फ्रान्सेली र फ्लेमिश भाषी भागहरूमा विभिन्न स्वायत्त नीति तथा दृष्टिकोणहरू विकसित गरेका हुन्। संघिय अभ्यासको यहि शृंखलाले बेल्जियमभित्रको फरक सांस्कृतिक अभ्यासलाई अझ परिस्कृत गर्ने मार्ग प्रसस्त गरेको हो। अहिलेसम्म विश्वका अन्य देशबाट आएका समुदायको साँस्कृतिक पहिचानलाई बेल्जियमले के कस्तो नीति अनुशार ब्याबहार गर्ने गरेको छ ? त्यसलाई नबुझी हामीले नेपाली पहिचानको लागि मार्ग बनाउन सक्दैनौं।  

अध्यागमन र सांस्कृतिक विविधता सम्बन्धी नीतिहरू फ्ल्यान्डर्स र फ्रान्कोफोन बेल्जियममा धेरै फरक राजनीतिक वातावरणमा विकसित भएका हुन्। सन् १९७०को अन्त्यदेखि, सबै परम्परागत राजनीतिक दलहरू (जस्तै, क्रिश्चियन डेमोक्रेट,लिबरल र समाजवादीहरू)मुख्य गरेर भाषिक रुपले विभाजित भएका थिए।

पछिल्ला दशकहरूमा बेल्जियमका दुई संघीय राज्यले राजनीतिक परिदृश्यहरु फरक-फरक रूपमा विकसित भएका छन्। त्यो कसरि भने यहाँको संघियताले पार्टीका मुद्धा मिलेपनि मुलभुत रुपमा विकेन्द्रित पार्टी प्रणाली अपनाएको छ। आफ्नो संघिय क्षेत्रभित्र पार्टी संरचना अलग्गै रुपमा पूर्ण स्वायत्त छन् र नेतृत्व पनि पूर्णतया अलग्गै छ। नेपाल र बेल्जियम मात्र हैन संघियता भएका अन्य देशको पार्टी प्रणाली र बेल्जियमको पार्टी प्रणालीको भिन्न मोडेल संसारकै दुर्लभ संघिय मोडेल मध्ये एक हो।

बेल्जियमको फ्लांदरभित्र आप्रबासीहरुको साझा सत्रु भनेको रेसिजम हो। आप्रबासिप्रति घृणाको मनोविज्ञानलाई बढावा दिने यहाँ केहि अन्ध राष्ट्रबादी पार्टीहरु रहेका छन्। यिनै घोर साम्प्रदायिक तथा जातिवादीहरुले बेल्जियममा आफ्नो बर्चस्व बढाउदै लग्नु अन्य आप्रबासीको साथै नेपाली मुलका आप्रबासीकोलागि पनि गम्भीर चिन्ताको बिषय हो।

सबैलाई थाह भएकै कुरा हो कि फ्लेमिश राजनीतिमा सन् १९९०को दशकमा भ्लाम्स ब्लक नामक घोर दक्षिण पन्थीहरुको उपद्रोहको सामना गर्नु पर्यो। तर त्यो पार्टीलाई आप्रबासीहरुप्रति मात्र नभएर वालोनि क्षेत्र प्रति समेत घृणा फैलाउने नीति कै कारण बेल्जियमको अदालतले अबैधानिक घोषणा गर्यो। तर अहिले ति भिन्नभिन्न आकार प्रकारमा रहेका दक्षिणपन्थीहरुले बेल्जियमको आप्रबासी नीतिमा हस्तक्षेप बढाइरहेका छन्। दक्षिणपन्थीहरुको आप्रबासी प्रतिको संकीर्ण नीतिका कारण बेल्जियमको केन्द्रिय सरकारमा समेत बेलाबेलामा अन्तरविरोध देखा परिरहन्छ र सरकार भत्किने बन्ने अबस्थाको सृजना हुन्छ। जुन कुरालाई हामीले बिगतमा देखि सकेका छौँ। फ्लामिस क्षेत्रको तुलनामा वालोनिमा दक्षिणपन्थी क्षेत्रियताबादीहरुको राजनैतिक प्रभाव त्यति देखिंदैन। वालोनिहरुको समस्या भनेको कुनै पनि संस्कृतिहरु प्रति अरुचि हो। उनीहरु धर्म र संस्कृतिलाई ब्याक्तिगत बिषय मात्र मान्दछन र पहिचानको संरक्षणमा राज्यको दायित्व हुनुपर्ने कुरामा रुचि राख्दैनन्।

बिबिध आन्तरिक खिचातानी र भिन्न भिन्न परिवेशको कारणका साथै बेल्जियमको राजनैतिक खिचातानीले आप्रवासनका सांस्कृतिक विविधतासँग व्यवहार गर्ने तरिकाहरूलाई प्रतक्ष रूपमा प्रभाव पारेको देखिन्छ।

बेल्जियममा खासगरी वालोनि र भ्लांदरबीच विभाजनको मुख्य कारकहरुमद्धे फरक भाषिक सम्प्रदाय,धर्मनिरपेक्षबादलाई बुझ्ने र लागु गर्ने फरक मनोविज्ञानका साथसाथै क्षेत्रगत सामाजिक-आर्थिक असमानता नै हो।अर्को शब्दमा भन्दा,त्यसको सामाजिक कारण दुवै संघीय क्षेत्रमा बिगत देखिकै उत्पादन प्रणाली बिचको फरक र त्यसले चेतनामा पार्ने अन्तरलाई मान्न सकिन्छ। त्यसको निर्धारक बिकासको फरक सामाजिक रुझानको मनोविज्ञान हो। प्रष्ट रुपमा देखिने अर्को फरक,फ्लेमिशहरू ऐतिहासिक रूपमा क्याथोलिक धर्म मान्दछन र वालुनियाहरू धर्मनिरपेक्षताबादी छन्। वालोनियामा १९औं शताब्दीको सुरुमा नै औद्योगिकीकरण भैसकेको थियो, जबकि फ्ल्यान्डर्स केहि दशक अघिसम्म पनि गरीब र कृषि प्रधान रहेको थियो। यसले वालोनियासँग मजदुर आन्दोलन धेरै र बलियो अबस्थामा रहेको तथ्यलाई देखाउँछ ।

यी दुई क्षेत्रहरुबीच रोमन कालदेखि नै धेरै सामाजिक अन्तरविरोधहरु रहेका छन्। सतही रुपले हेर्दा माथि बताइएका प्रधान अन्तरविरोधहरु समाधान हुन नसकेर नै देश भाषिक संघियतामा गएको हो। यदि यो तरिकाले अन्तरविरोध बेलैमा समाधान नगरिएको भए देश विभाजनमा जाने खतरा थियो।

यहाँ प्रत्येक संघिय क्षेत्रभित्र आफ्नै बिशेषता सहितको भिन्नता छ र समयसँगै आन्तरिक अबस्थामा केहि परिवर्तनहरू पनि भएका छन्।

फ्लांदर भित्र क्रिस्चियन-डेमोक्रेट पार्टी र दक्षिण पन्थीहरू सधैं प्रमुख राजनीतिक शक्तिहरू रहेको देखियो भने,वालोनि समाजवादी पार्टी र मजदुर आन्दोलनको गढ भकोले समाजबादीहरुको ब्यापक प्रभाव छ । त्यसैले बैचारिक हिसावमा इतिहाँसदेखि अहिलेसम्म फ्लेमिसहरुभन्दा फ़्राङ्कोफ़ोन बढी प्रगतिशील,धर्म निरापेक्षबादी र आप्रबासीको हकमा उदारवादी रहेका छन्।

भाषिक द्वन्द र विच्छेद(Linguistic Conflict and Separation):

बेल्जियमका दुई भाषिक समुदायबिचको भिन्नताको जड “अर्थ र पहिचान” हो। वालोनीमा बस्नेहरुहरुले आँफुलाई आर्थिक रुपमा शोषण गरेको बुझाई फ्लांदरबासीको छ। बिचार र अर्थको क्षेत्रमा वालोनियाहरुले फ्लांदरबासि भन्दा सबल देख्नु विभाजनको अर्को कारण हो। दक्षिणमा (मुख्यतया) फ्रान्कोफोनहरू र उत्तरमा फ्लामिस डच-भाषीहरू बीचको बैचारिक तथा भाषिक भिन्नता बिना, बेल्जियम खास गरेर अहिलेको स्वरुपमा हुने थिएन।

पछिल्लो चरणमा,बहुसंख्यक डच भाषी जनसंख्या भएको बेल्जियममा अफिसियल भाषाको रुपमा फ्रान्सेली भाषाको विशेष प्रयोगले धेरै छिटो” फ्लेमिश आन्दोलन”लाई हुर्कायो।बेल्जियम सरकारको तात्कालिक भाषाको विभेदकारी नीतिले बर्गीय आन्दोलनलाई पनि सामाजिक मुद्धाको रुपमा उठाउने काम गर्यो। जस्तोकि,त्यो बेला बेल्जियमका उच्च खानदानको भाषा भनेर फ्रेन्चलाई मानिन्थ्यो। फ्लामिस त खालि फ्ल्यान्डरका गरिव किसानले बोल्ने भाषाको रुपमा बुझिन्थ्यो। बेल्जियम इतिहाँसका ति दिनहरुमा सार्वजनिक भाषाको रूपमा फ्रेन्चको छनौट गरिएको थियो र निदरल्याण्ड भाषा बोल्ने फ्लेमिश जनतालाई सामाजिक,आर्थिक र राजनीतिक अवसरहरूबाट वञ्चित गरिन्थ्यो ।

 फ्लेमिश आन्दोलनका ऐतिहाँसिक अन्तरविरोधहरू मुख्यतया भाषिक र सांस्कृतिक पहिचान सम्बद्ध नै थिए। यो भाषिक विभेदीकरणले फ्लामिसहरुमा विद्रोहको आगो बाल्ने काम गर्यो। अदालत, विद्यालय र सेना सहित सार्वजनिक सेवामा निदरल्याण्ड भाषाको प्रयोगको मागहरू हुन थाल्यो। आफ्नो सांस्कृतिक पहिचानको प्रतिक  निदरल्याण्ड भाषालाई मुख्य कामकाजी भाषाको रुपमा कानुनि मान्यता दिलाउनुलाई सामाजिक र आर्थिक मुक्तिको रुपमा बुझ्न थालियो । पहिलो विश्वयुद्धपछि मात्रै सांस्कृतिक र भाषिक समानताको माग गर्दै आएको फ्लेमिश आन्दोलनले राजनीतिक स्वायत्तताको माग सहित राष्ट्रवादी आन्दोलनको रुप लियो । सन् १८९८मा “फ्लेमिश आन्दोलन” सफल भयो र बेल्जियममा पिछडा फ्लामिस डच-भाषीहरूको भाषा संस्कृतिले कानुनि मान्यता प्राप्त गर्यो। यहि मूल कुराले बेल्जियम एकात्मक राज्यबाट संघियतामा लागेको हो।

त्यहि आन्दोलनको फलस्वरूप, फ्लांदरमा सबै सार्वजनिक सेवाहरू र आधिकारिक संचार (शिक्षा र मिडिया सहित) क्षेत्रमा डचको प्रयोगले कानुनि मान्यता पायो भने वालोनियामा फ्रान्सेली भाषाको प्रयोगले। त्यस्तै राजधानी ब्रसेल्सका नागरिकहरूलाई डच वा फ्रान्सेली दुवै भाषामा सेवाहरू प्रदान गर्ने नीति रहेको छ। ब्रसेल्सका व्यक्तिहरूले दुवै भाषामा सेवाहरू पाउने यो अधिकार ब्रुसेलको समानान्तर भाषीक संयन्त्रहरू मार्फत सुनिश्चित गरिएको छ।

ब्रुसेल र यसको वरपर निदरल्याण्ड भाषा बोल्ने अल्पसंख्यक फ्लामिस बस्छन। उनीहरुको संख्या दिन प्रतिदिन घट्दो छ। बेल्जियमको राजधानीबाट निदरल्याण्ड भाषी हराउने खतराको कारणले गर्दा, फ्रान्सेली-भाषा समुदाय र आप्रवासीहरूको लागि समेत निदरल्याण्ड भाषा शिक्षण शुरु गरिएको छ। ब्रुसेल्समा फ्लेमिश आप्रवासी एकीकरण नीतिहरूले डच भाषा आत्मसातलाई महत्व दिने गरेका छन् । यद्यपि, बेल्जियममा फ्लेमिसहरुलाई फ्रान्कोफोनहरूद्वारा “जबरदस्ती सांस्कृतिक दमन” गरिएको मानेर त्यो नीति लागु गरिएको हो। उनीहरु अल्पमतमा भएको ठाउँमा आप्रबासिलाई साथि बनाउने र डच अनिबार्य सिक्नु पर्ने नीति छ। राज्यको यस्तो पोलिसिले बेल्जियमको संबिधानले ब्याबस्था गरेको भाषिक र कलात्मक विविधता सहितको बहुसांस्कृतिक नीतिमाथि सकारात्मक हस्तक्षेप गरिरहेको देखिन्छ।

धार्मिक विच्छेद अर्थात राज्यसंग चर्चको सम्बन्ध बिच्छेद(Religious separation is the separation of the church from the state):

बेल्जियममा रहेका चर्च र राज्य प्रणाली एक ऐतिहासिक सम्झौताको परिणाम स्वरुप अलग भए। क्याथोलिक चर्चले प्रत्यक्ष राजनीतिक भूमिका खेल्नको लागि आफ्नो जिद्दी छाडेपछि राज्यले सामाजिक महत्वलाई मान्यता दियो ।

यद्यपि, बेल्जियमको धार्मिक दरारलाई सन् १८३० को राज्य निर्माण पछि उदारवादी क्याथोलिक पार्टीहरूको निर्माण गरि संस्थागत गरिएको थियो। क्याथोलिक चर्चहरुले स्कुलहरुमा सन् १९५० को दशकमा “विद्यालय युद्ध” चलाए।  स्कुलहरुलाई क्याथोलिक चर्चबाट अलग्याउन थालियो। शिक्षा प्रदान गर्नमा चर्चको भूमिका वालोनिको तुलनामा फ़्लान्दरमा अधिक थियो । तर पछि चर्चको नियन्त्रणमा रहेका धेरै बिद्यालयहरु राज्यले आफ्नो माताहतमा लियो र क्रमश नगरपालिका मार्फत समुदायलाई हस्तान्तरण गर्ने नीति लियो।

बेल्जियममा धर्मनिरपेक्ष आन्दोलन वा “धार्मिक स्वतन्त्रताका पक्षधरहरू” र क्याथोलिक धर्मका अनुयाईहरुबीच धेरै अगाडिदेखि अहिलेसम्म मनोबैज्ञानिक दरार छ। बेल्जियममा परम्परागत राजनैतिक पार्टी र प्रगतिशील राजनैतिक धारहरुबिच राज्य-चर्च सम्बन्धलाई गरिने व्याख्यामा सदैव मत विभाजित हुँदै आएको देखिन्छ । त्यो मत भिन्नता बेल्जियमका स्कुल तथा कलेजहरुमा राखिने गरेका नाम र चिन्हहरुको सन्दर्भमा प्रकट भयो। बेल्जियमका बिद्यालयदेखि बिश्वबिद्यालयमा राखिएका क्याथोलिक धर्मका चिन्हहरु हटाइनु पर्ने र सार्वजनिक सेवाका क्षेत्र धार्मिक प्रभावबाट अलग रहनु पर्ने माग निरन्तर उठिरहेको छ। यसकारण बेल्जियमको आन्तरिक समाज धार्मिक कारणले पनि विभाजित देखिन्छ। भन्नाले फ्ल्यान्डर्समा धर्मनिरपेक्षताबादी समावेशी तटस्थताको पक्षमा बढी देखिन्छन्। तर फ्लांदरबासिहरु पहिचान बचाउनु पर्ने मत राख्दछन। उनीहरुमा बिगतमा फ्रेन्च भाषीबाट भएको आफ्नो पहिचानमाथि भएको दमनको पिडा अझै देखिन्छ।

 आप्रवासनमार्फत आएको अल्पसंख्यक धर्म तथा संस्कृतिहरूमा बेल्जियमको सबैतिर एकनासको समानता देखिन्न। फ्ल्यान्डर्समा अध्यागमनको धेरै कसिलो राजनीतिकरण,चरम दक्षिणपन्थी आप्रवासी विरोधी पार्टीको अबरोध तथा वालोनियामा निरपेक्षताबादीहरुको उपस्थितिको कारण अल्पसंख्यक आप्रबासीहरूको पहिचान बढाउने चुनौती छ ।

वालोनि राज्यमा अल्पसंख्यकका भाषाहरू(Minority languages in the state of Wallonia):

फ्रान्कोफोन बेल्जियम वा वालोनिमा,वयस्कहरूका लागि अल्पसंख्यक भाषा पाठ्यक्रमहरू (साथै अल्पसंख्यक सांस्कृतिक अभिव्यक्ति)लाई वालोनिको प्रशासनले सन् १९८०को अन्त्यसम्म सामान्यरुपले लागु गरेको थियो। यद्यपि, सन् १९८८ को चुनाव पछि, जब आप्रवासी एकीकरण नीतिहरूले राजनीतिज्ञहरूको ध्यान आकर्षित गर्यो, तत् पश्यात बेल्जियममा बहुसांस्कृतिक नीतिहरूलाई लागु गरियो । पछिल्लो चरणमा सांस्कृतिक तथा सामाजिक एकीकरणको नीति लागु गरेपछि फ्लांदरमा प्रौढ स्कुल संचालनमा धेरै बजेट विनियोजित गरिएको देखिन्छ। त्यसको तुलनामा वालोनिया क्षेत्रमा साँस्कृतिक तथा सामाजिक एकीकरण र भाषा स्कुलमा राज्यको लगानी अत्यन्त कम देखिन्छ। धर्म तथा संस्कृतमा निरपेक्षताबादीहरुले लगानी गर्न नचाहानुको कारणमा सांस्कृतिक विभाजनको खतरालाई मान्दछन। सोसलिष्टहरुको अर्को एक विश्लेषण अनुशार परम्परागत रुडिबादलाई परास्त गर्न साँस्कृतिक रुपान्तरण र आधुनिकिकरण आबश्यक छ। त्यसको लागि पुराना सामाजिक मूल्यहरुको अन्त्य हुनु जरुरि छ। 

 फ्लांदर राज्यमा अल्पसंख्यक भाषाहरू(Minority languages in Flanders State):

फ्लान्दर्सले सन् १९८० को अन्त्य देखि, फ़्राङ्कोफ़ोन प्रसासनको तुलनामा आप्रवासीहरुको लागी डच भाषा पाठ्यक्रमहरुमा धेरै लगानी गरेको छ र भाषा तथा सामाजिक एकीकरण(inburgering) नीतिलाई कडा पार्दै लगिएको छ । नयाँ आप्रवासी र पुराना बेरोजगार आप्रवासीहरूलाई डच भाषा र सामाजिक एकीकरण(inburgering)को पाठ्यक्रम अनुशरण गर्न अनिबार्य गर्ने नीति कार्यान्वयन भएमा फ्लान्दर्समा रैथाने र आप्रबासीबीच विभेदको अन्त्य हुने सोचिएको छ । आप्रवासी एकीकरण र भाषा आत्मसातको यो नीतिलाई यहाँका फ्लेमिश राष्ट्रवादीहरुले अत्यान्त कडाई पुर्वक लागु गर्न जोड दिएका छन् भने अन्य धर्म तथा सांस्कृतिक पहिचानको सवालमा बर्तमान राजनैतिक नेत्रित्वबर्ग कडा रूपमा प्रस्तुत हुने गरेको छ।

अल्पसंख्यक धर्महरुको लागी नीतिहरु(Policies for Minority Religions):

बेल्जियमको सन्दर्भमा अल्पसंख्यक धर्मलाई सम्बोधन गर्ने नीतिगत अधिकार राज्य र क्षेत्रीय तहमा विभाजन गरिएको छ। संघीय राज्यले सार्वजनिक रूपमा अल्पसंख्यकहरुका धर्महरूलाई मान्यता दिन्छ, तिनीहरूलाई अनुदान दिन्छ र पुजारी वा पादरीहरूको तलब तिर्छ। बेल्जियमको केन्द्रिय सरकारद्वारा सन्२००२ देखि, स्थानीय पूजा स्थल (स्थानीय चर्च, मन्दिर, मस्जिद, आदि) को मान्यतालाई क्षेत्रीयकरण गरिएको छ।

क्याथोलिक चर्च बाहेक, बेल्जियमको निर्माण भएको पहिलो दशकहरूमा अन्य धर्महरूलाई मान्यता दिंदै संस्थागत गरिएको थियो। उदाहरणको लागि सन् १८३२ मा यहूदी धर्म, १८७० मा प्रोटेस्टेन्टवाद र एङ्ग्लिकनवादले बेल्जियममा कानुनि मान्यता पाए । यसबाहेक, सन् १९७४ मा इस्लाम (मोरक्कन र टर्की अध्यागमन) र सन् १९८५ मा अर्थोडक्स ईसाई धर्म (रूसी र ग्रीक आप्रवासन) थपिए। अन्ततःसन् १९९३ मा जनसंख्या गणना गर्दा धार्मिक अलगावबादीहरुको समेत पहिचान गर्ने नीति बन्यो। पछिल्लो पटक अर्थात सन् २००८ मा बेल्जियमको सरकारले हिन्दु,जैन र बुद्ध धर्मलाई समेत कानुनि मान्यता दिइ सकेको छ।

स्थानीय पूजा स्थलहरूको क्षेत्रीय मान्यता(Regional recognition of local places of worship) :

बेल्जियमको केन्द्रिय सरकारद्वारा सन् २००२ मा स्थानीय पूजास्थलहरूको मान्यता सम्बन्धी नीति निर्माण गर्ने अधिकारलाई क्षेत्रीयकरण गरिएको थियो। फ्लामिस क्षेत्र पुजास्थलहरुको नितिनियम अनुमोदन गराउने पहिलो संघिय सरकार मानिन्छ। फ्लांदरको सामाजिक एकीकरण नीतिलाई सांकृतिक अन्तरघुलनको एक कारण मानिए पनि धार्मिक पुजा प्रक्रियाबारे नीति निर्माणमा समेत यस नीतिले प्रेरित गरेको देखिन्छ।

मुस्लिम धर्म बढी कट्टरपन्थीहरुको प्रयोग स्थल नबनोस भनेर बेल्जियमको सरकारले पूजास्थलको मान्यता प्राप्त गर्नको लागि मस्जिदहरूले धेरै लिखित कागजातहरू पेश गर्नुपर्दछ। मुस्लिम धर्मावलम्बीहरुले उनीहरूको सबै सम्पर्कहरूमा डच भाषाको प्रयोगलाई सम्मान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त नगरेसम्म पूजास्थलको स्वीकृति मिल्दैन। मुस्लिमहरुले संविधान, मौलिक अधिकारहरू (तिनीहरू बीच व्यक्तिगत स्वतन्त्रता) को सम्मान गर्ने र अन्तमा, सम्भावित आतंकवादी गतिविधिहरूमा संलग्न नहुने आफ्नो मनसाय पनि लिखित संकल्प सहित सम्बन्धित निकायलाई बुझाउनु पर्छ। यो नीति प्रस्ताव र अनुमोदन गर्ने तात्कालिक आन्तरिक मामिला हेर्ने क्षेत्रीय मन्त्री मारिनो केउलेनको उद्देश्य स्पष्ट रूपमा मस्जिदहरूलाई कुनै पनि चरमपन्थी गतिबिधि नहोस भन्ने नै थियो।

फ्लांदरमा पुजा स्थलको कानुनि मान्यता प्राप्त गर्न र त्यसपछि आर्थिक सहयोग गर्न चाहने प्रत्येक प्रस्तावित मस्जिदले माथिका सिद्धान्तहरू र स्थानीय सार्वजनिक अधिकारीहरूसँगको आफ्नो सम्बन्धलाई व्यवस्थित गर्ने तरिकामा समेत आफ्नो प्रतिबद्धता प्रमाणित गर्न आवश्यक छ। यस्तो कडा कानुनि ब्याबस्था बेल्जियमको फ्रान्सेली भाषी क्षेत्रमा छैन।

अल्पसंख्यक धार्मिक बिदाबारे(About minority religious holidays) :

अल्पसंख्यक धर्महरूप्रति फ्लेमिश नीतिले यो क्षेत्रमा बिकसित हुँदै गरेको बहुसांस्कृतिक परिदृश्यलाई देखाउँछ। धार्मिक शिक्षा पछ्याउने फ्लेमिश पब्लिक स्कूलहरूमा विद्यार्थीहरूलाई उनीहरूको मुख्य धार्मिक चाडको सम्मान गर्दै पर्वको दिन विशेष बिदा दिइन्छ। यो अवसर बेल्जियमको फ्रान्सेली-भाषी क्षेत्रमा छैन। फ्रान्कोफोन सार्वजनिक शिक्षा प्रणालीले सैद्धान्तिक रूपमा, अल्पसंख्यक धर्मका विद्यार्थी वा शिक्षकहरूलाई छुट्टी दिन अस्वीकार गर्दछ। जसको कारण हो,विद्यालयमा “धार्मिक तटस्थता सम्बन्धि नीति तथा निरपेक्षताबादी मनोविज्ञान। प्राय फ्रान्स भाषीहरु धर्मलाई राज्य र शिक्षा प्रणालीबाट अलग राख्नु पर्ने मत राख्छन।

सार्वजनिक क्षेत्रहरूमा हेडकार्फ(बुर्का)सम्बन्धि बिबादबारे(Controversy over headcarf (burqa) in public areas):

बेल्जियमको सार्वजनिक क्षेत्रमा इस्लामको प्रतिक चिन्ह बुर्का एक राजनीतिक र अत्यधिक विवादास्पद मुद्दा हो। धार्मिक चिन्हहरूकोबारेमा हालैका विवादहरू विशेष रूपमा मुस्लिम महिलाहरुले सार्वजनिक क्षेत्रमा बाध्ने हेडकार्फ़संग सम्बन्धित छन्। हेडकार्फ़को बिषयमा फ्ल्यान्डर्स र फ्रान्कोफोन बेल्जियममा क्षेत्रीय प्रतिक्रियाहरू अपेक्षाकृत समान रहेको देखिन्छ ।

पहिला पहिला हेडकार्फ़ वा बुर्काको बिषयलाई धार्मिक स्वतन्त्रताको बिषय मानिए पनि सन् २००८ पछि सार्वजनिक क्षेत्रमा बुर्का लगाउन नपाइने भनि सामान्य क्षेत्रीय प्रतिबन्धको बहस उठ्यो। अहिले फ्ल्यान्डर्समा, फ्लेमिश समुदायद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरूमा धार्मिक चिन्हहरू प्रतिबन्धित गरिएको छ। फ्रान्कोफोन बेल्जियममा, सेप्टेम्बर २००९ देखि  सार्वजनिक विद्यालयहरूमा मुस्लिम महिलाले बाध्ने टाउकोको स्कार्फबारेमा बहस चर्कियो र मुभमेन्ट रिफर्मेचर(एमआर)का अध्यक्ष डिडियर रेन्डर्सले स्कुलमा विद्यार्थीहरूलाई बुर्का वा हेडकार्फ़ लगाउन प्रतिबन्धको घोषणा गरे पनि त्यसले कानुनि मान्यता प्राप्त गर्न सकेन । अन्ततःमार्च २०१४ मा, फ्रान्सभाषी क्षेत्रको संसदले जनतासँग सम्पर्कमा हुँदा सरकारी अफिस र प्रशासनमा काम गर्ने मानिसहरूलाई धार्मिक चिन्हहरू (मुख्य रूपमा हेडकार्फ़ र बुर्का) माथि प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान गर्यो ।

सन् २००७ देखि ब्रसेल्स क्षेत्रीय प्रशासनमा पनि त्यहि प्रकारको सामान्य प्रतिबन्ध लागू भएको छ। फ्लेमिश प्रशासनमा, यस्तो कुनै नियम (अहिलेसम्म) जारी गरिएको छैन। निर्णय गर्ने कार्य विभिन्न फ्लेमिश मन्त्रालयहरू अन्तरगतका प्रसासनिक एकाइलाई छोडिएको छ। यहि मुद्धालाई अहिले बेल्जियमका कट्टरपन्थी भ्लाम्स बेलांग,एनभीआ लगायतले उचाली रहेका छन् । एउटा महत्त्वपूर्ण कुरा, फ्लेमिश रोजगार एजेन्सी VDAB (Vlaamse Dienst voor Arbeidsbemiddeling) ले आफ्नो श्रम मापदण्डमा “समावेशी तटस्थता” को सिद्धान्त अभ्यास गरेको छ।

रोजगार एजेन्सी(VDAB)ले व्यावसायिक प्रशिक्षणमा सहभागीहरूका लागि विशेष हेडकार्फ पनि विकास गरेको छ। उक्त एजेन्सीले घरबाट ल्याइएको हेडस्कार्फ लगाएर काम तथा तालिम को लागि प्रायोग गर्ने अनुमति दिंदैन। तर ब्रसेल्स क्षेत्रीय रोजगार एजेन्सी तथा ब्रसेल्स क्षेत्रीय सरकारले सम्पूर्ण क्षेत्रीय प्रशासनको लागी नियम जारी गर्दै आफ्ना कर्मचारीहरुको लागी धार्मिक संकेतहरुमा प्रतिबन्ध लगाएको छ ।

अगाडि नै भनिसकियो कि बेल्जियममा सन् १९७० देखि नै सांस्कृतिक नीतिहरू संघिय क्षेत्रहरू (जस्तै, फ्लेमिश, फ्रेन्च- र जर्मन-भाषी समुदायहरू) लाई हस्तान्तरण गरिएको हो। तर यी नीतिहरु लागु गर्ने शिलशिलामा क्रमश फरक परिणाम आउन थाल्यो। अध्यागमनको परिणामस्वरूप सांस्कृतिक विविधताका नीतिहरूमा फ्ल्यान्डर्सको अध्यागमनले बिशेष दृष्टि दियो। तर सांस्कृतिक विविधताप्रति समान दृष्टिकोण नअपनाएको कारण फ्रान्कोफोन बेल्जियम सांस्कृतिक पहिचानको संरक्षणमा पछि परेको देखिन्छ ।

फ्लान्दर्समा, सांस्कृतिक पहिचानको संरक्षण सम्बन्धी नीतिले सांस्कृतिक विविधताको संरक्षणका लागि उल्यख्य भूमिका खेलेको छ । यस प्रक्रियालाई फ्ल्यान्डर्समा अन्तरसांस्कृतिकीकरण भनिन्छ र यसलाई सांस्कृतिक मूल प्रवाहको नीतिसँग जोड्ने लक्ष निर्धारण गरिएको छ । यस अन्तरसांस्कृतिकीकरण प्रक्रियाको लक्ष्य भनेको मूलधारका संस्था र सेवाहरूमा आप्रवासी मूल समूहहरूको समान पहुँच सुनिश्चित गर्नु हो। यस पहुँचको ग्यारेन्टी गर्नको लागि, आप्रबासीहरूले प्रस्ताव गर्ने र अभ्यास गर्ने कुराहरू अनुकूलन गर्न र उत्प्रेरित गर्नको लागि सन् २००६ मा कार्ययोजना अन्तर-सांस्कृतिककरण (Actieplan Interculturaliseren) अध्यादेश पेश भयो। यस अध्यादेशमा, फ्लामिस सांस्कृतिक संस्थाहरूले समुदायका संस्कृतिहरु संरक्षणको लागि आर्थिक सहयोगको माग गर्ने,सार्वजनिक र सांस्कृतिक विविधता प्रवर्द्धन गर्नको लागि रणनीति तय गर्ने लगायत समाबेश गरिएको छ।

बेल्जियमको संबिधानले के लक्ष राखेको देखिन्छ भने बेल्जियममा भएका सबै सम्प्रदाय र संस्कृतिहरु लगातार एक आपसमा अन्तरघुलन हुँदै जान्छन। अर्थात प्रत्येक समूह एक अर्कामा पग्लन्छ, त्यसले क्रमश नयाँ सार्वजनिक संस्कृति सिर्जना गर्दछ।यो “सामाजिक एकीकरण उद्देश्य”को लागी,पिछडिएको वर्ग लागी,सबैको समान सांस्कृतिक पहुँचको लागी “संस्कृति”शिर्षकमा छुट्ट्याइएको बजेटको ३५% लगानी गरिन्छ ।

निष्कर्षमा भन्नु पर्दा(In conclusion)

अल्पसंख्यक भाषा, धर्म र संस्कृति तथा कला सम्बन्धि नीतिहरूबीचको भिन्नतालाई वर्गीकरण गरेर हेर्दा,बेल्जियमको साँस्कृतिक मंच अनेकौँ असजिला घुम्तीहरु पार गर्दै विश्वभरिको सांस्कृतिक सभ्यताको रंगिन पोखरी बन्ने क्रममा रहेको छ। तर पनि यहाँ जुन ‘सांस्कृतिक अन्तरघुलनको पग्लिने भाँडो’ सम्बन्धि अबधारणा छ ,त्यसमा अल्पसंख्यकका सांस्कृतिक पहिचानका बिशिष्ट अवशेष बचाउन सम्बन्धित निकायहरुसंग समन्वय गरेर अघि बढ्नुको बिकल्प हामीसंग छैन। अल्पसंख्यक संस्कृतिहरूप्रति फ्रान्कोफोन(वालोनिया) नीतिहरू मुख्य रूपमा अमुर्त छन्। उनीहरुको सोच नयाँ संस्कृति निर्माणमा हैन सांस्कृतिक पहिचानको पूर्ण बिलोपिकरणतर्फ उन्मुख छ। तर नयाँ संस्कृति निर्माणको लक्ष हुँदाहुँदै पनि फ्लांदरतर्फ भेदकारी संकीर्ण सोचको मारमा परेर हाम्रा सांस्कृतिक मुद्धाहरु मिचिने,नासिने र मेटिने खतराहरु बढ्दै गएको देखिन्छ। त्यति हुँदाहुँदै पनि यहाँको समुदायबीच अल्पसंख्यक संस्कृतिहरूको कानुनि मान्यताले पहिचान संरक्षणबादीहरुलाई निरास नै बनाउने अबस्था छैन।

आज सम्म,आप्रवासी नीति अनुसन्धानको एक महत्वपूर्ण अध्ययनले अध्यागमनको राजनीतिकरण र प्रतिबन्धित आप्रवासी नागरिक अधिकारहरूबीचको अन्तर सम्बन्धलाई जोड दिएको छ।

अर्कोतर्फ़,अध्यागमनको राजनीतिकरणले बेल्जियमको सांस्कृतिक विविधतामा नीति र ब्यबहारबिचको विरोधाभास देखिन्छ,अर्थात् यस क्षेत्रमा अल्पसंख्यक अधिकारहरूको अस्तित्वमाथि चरम-दक्षिणपन्थी -आप्रवासी विरोधी पार्टीहरुद्वारा आक्रमण हुने खतरा बढेर गएको छ।त्यस्तै वालोनियातर्फ धेरै धर्मनिरपेक्षबादी दृष्टिकोणको कारण संसारभरिका सांस्कृतिक सभ्यताको यो बगैंचा उपेक्षामा पर्ने खतरा पनि छ।बैज्ञानिक सांस्कृतिक मार्ग निर्माणतर्फ जोड दिएर यो लेखले नेपाली आप्रबासीको छुट्टै दर्शन र सभ्यताको आगमन प्रति सबै आप्रबासिलाई आशाबादी बनाउने छ। त्यसको लागि आप्रबासीको आफ्नै पहल निर्णायक हुनु जरुरि छ। 

अल्पसंख्यकहरुको आन्तरिक पहलमा मातृभाषाको सिकाई,सांस्कृतिक गतिविधिहरुको निरन्तरता र आस्थाहरुको पुस्ता हस्तान्तरणको चासो आदि पर्दछन।आखिर अहिलेको आधुनिक सभ्यता र सांस्कृतिक उन्नयन सबै सभ्यता र संस्कृतिक अनुभवको लामो सृंखलाबाट मात्र सम्भव भएको हो।


प्रकाशित | ७ असार २०७९, मंगलवार २१:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *