नागरिकहरुबाट आएका सुझावलाई बजेट, नीति तथा कार्यक्रममा समेट्छौ : मेयर साह

काठमाडौँ : टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । राजस्व परामर्श समितिले आज आयोजना गरेको आ। व। २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

‘निर्वाचित हुनेवित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक बनाउन सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रयास गर्छौँ । यसपछि पुसमा अर्को नगर सभा हुन्छ । त्यसबेला छलफललाई अझ विस्तृत बनाउँछौँ’ प्रमुख शाहले सहभागीको कर सम्बन्धी जिज्ञासाको उत्तर दिँदै भन्नुभयो, ‘कमाइ गर्नेले कर तिर्ने हो । यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ् र व्राण्डिङ् गर्नुपर्छ । यसमा अहिलेसम्म ध्यान गएको देखिँदैन । हामीले यस विषयमा पनि सोच बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामुलक बनाउन खोजिएको बताउनुभयो । ‘स्थानीयहरुका सानातिना समस्या पनि सम्बोधन गर्ने दिशामा ध्यान दिनेछौँ । सबैले मेरा लागि तर्जुमा गरिएको हो भन्ने कार्यक्रम बनाइनेछ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा.शिवराज अधिकारीले करका दर कम गर्नु तर छुट नदिनु भन्ने सुझाव दिनुभयो । ‘करको दर धेरै बनाउँदा स्रोत बढ्छ भन्ने होइन । दर कम गर्नुपर्छ दायरा बढाउनुपर्छ ।’

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा। पवन झा, नेपाल ल क्याम्पसका प्रमुख प्रा। डा। डिएन पराजुलीलगायतका वक्ताले योजनावद्ध कर नीति, दिगो व्यापारको अवधारणा, तथ्यको भण्डारणलगायत काम गर्न महानगरलाई सुझाव दिनुभएको थियो ।

अन्तरक्रियामा सहभागीहरुले एक ठाउँमा तिरेपछि कर तिर्न अर्को ठाउँमा जानु नपरे कम झन्झट हुने सुझाव राख्नुभएको थियो ।

अन्तरक्रियामा महानगरको कार्यापालिकाअन्तर्गत गठन भएका समितिका संयोजकहरु, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, स्थानीय राजस्व परामर्श समितिलगायत विभिन्न समितिका प्रतिनिधिहरु, उद्योग तथा वाणिज्य र घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।


प्रकाशित | १ असार २०७९, बुधबार २०:५२