एनआरएनए निर्वाचन : हालसम्म ९ जनाको उम्मेदवारी दर्ता

सहमतिको लागि भन्दै केहि दिन पछि सार्ने तयारी

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि हालसम्म ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले केन्द्र र क्षेत्र गरि ६० पदमा निर्वाचन गर्दैछ । त्यसका लागि सोमबार बिहान ११ बजेदेखि शुरु गरेको उम्मेदवारी दर्ता भोलि साँझ ५ बजेसम्म कायम रहने जनाएको छ ।

अनलाईनमार्फत उम्मेदवारी दर्ता गरिरहेको निर्वाचन समितिका अनुसार हालसम्म अध्यक्षमा डा. बद्री केसीको मात्र उम्मेदवारी परेको छ । युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरी राज जोशी, खुला सचिवमा रामशरण सिंमखडा, महिला सचिवमा राधिका गुरुङ (टिका) र महिला संयोजकमा संगीता मरहट्टाको उम्मेदवारी परेको छ ।

त्यस्तै, युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराई, उपसंयोजकमा युकेबाट ललितकुमार न्यौपाने, मध्यपुर्व संयोजकमा साउदी अरवबाट राजेन्द्र अर्याल (जोन)को पनि उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया जारी राख्दा सहमतिको प्रयास समेत जारी राखिएको छ । स्रोतका अनुसार एनआरएनएको मनोनयन दर्ता केहि दिन पछि सारेर सबै पक्षलाई समेटेर लैजाने प्रयास भइरहेको हो ।

स्रोतको दावी अनुसार असन्तुष्ट पक्षलाई समेत समेटेर एकता महाधिवेशन गर्ने विषयमा सहमति भइसकेको छ । तर अहिलेसम्म त्यसको आधिकारिक पुष्टि भइसकेको छैन भने निर्वाचन समितिले पनि निर्वाचन कार्यतालिकामा संशोधन गरेको सुचना प्रकाशन गरेको छैन ।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार २०:००