काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार भने तोकिएको छैन । यता बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

त्यस्तैगरि एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जस अन्तर्गत धनगढी प्रमुखमा रणबहादुर चन्द, उपप्रमुखमा कन्दकला राना थारु, नेपालगञ्ज प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुर प्रमुखमा टिकाराम खड्का, उपप्रमुखमा स्यानी चौधरी, घोराही प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा कुमारी डिसी, बुटवल प्रमुखमा बाबुराम खड्का, उपप्रमुखमा साबित्रादेवी अर्याल, हेटौंडा प्रमुखमा अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्लेलाई उठाउने भएको छ ।

त्यस्तैगरि,  धरान प्रमुखमा मञ्जु भण्डारी, उपमेयरमा पदम लिम्बु, इटहरी प्रमुखमा यमकुमार सुब्बा, उपमेयरमा संगिता चौधरी, कलैया प्रमुखमा विनोद साहलाई उठाउने निर्णय गरेको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुख उम्मेदवार भने तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार पनि तोक्न बाँकी छ ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार २१:५५