एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन, संयोजकमा नारायण कँडेल

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । अल्डरसटस्थित आफ्नै कार्यालयमा बसेको दोस्रो प्रत्यक्ष बैठकले कानूनी तथा परामर्श तथा विधान समिति गठन गरेको हो ।

बैठकले उपाध्यक्ष नारायण कँडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो ।

संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिनेछ ।

अध्यक्ष प्रेम गाहामगरले विभिन्न्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्त विधान बनाउने संघको योजना रहेको बताउनु भयो ।

बैठकले विधान संशोधन सहित महत्वपूर्ण निर्णय र बिगतका कार्यक्रमका बारेमा समीक्षा समेत गरेको छ । अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न बैठकमा नयाँ कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा गरिएको हो ।

त्यस्तै, नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०२२ मा सहभागिताबारे एनआरएनए यूकेले छनौट प्रक्रिया गरि बेलायतबाट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन नेपाल पठाउने र यसको संयोजकत्व खेलकुद विभागले गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा खेलकुद विभाग, संघसंस्था विभाग, च्यारिटी विभाग, महिला विभाग, प्रकाशन विभाग, कानूनी परामर्श तथा अनुसन्धान विभाग, भाषा तथा साहित्य विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपत्तकालीन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुले आफ्नो विभागका क्रियाकलापबारे जानकारी गराउनु भएको थियो ।

बैठकमा ‘वान एनसीसी वान प्रोजेक्ट’ छनौट र मापदण्ड निर्धारण गर्नेबारे पनि छलफल भएको थियो । बैठकले एनआरएनए केन्द्रीइ अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिले यसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ ।

बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । एनआरएनए यूकेमा ‘ट्रष्टी’ थप गर्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरलाई मुख्य ट्रष्टीमा राखी बाँकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले आउँदो ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्यायबारे जानकारी दिनु भएको थियो । संघको अर्को प्रत्यक्ष पूर्ण बैठक आउंदो २० मार्च २०२२ आइतबार गर्ने निर्णय भएको छ ।


प्रकाशित | ५ माघ २०७८, बुधबार १९:३५