आजबाट एसईई परीक्षा सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ। परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन्। जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन्।

बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ ।

एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।


प्रकाशित | ९ बैशाख २०७९, शुक्रबार ०७:५८