विगतका गल्तीबाट पाठ सिक्दै विवाद समाधान गर्ने कार्यकारी अध्यक्ष आचार्यको प्रतिबद्धता

म्याड्रिड : गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विगतमा भएका गल्तीबाट पाठ सिक्दै एनआरएनए विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आइतबार आयोजना गरेको अन्तरक्रिया  तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष आचार्यले  धेरै बोलेर भन्दा पनि विगतमा भएका कमी कमजोरी र गल्तीबाट पाठ सिक्दै कार्यकाल उत्कृष्ट बनाएर देखिएका विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।

स्पेन आफ्नो दोस्रो घर जस्तो भएको बताउँदै नेतृत्व समाले पश्चात संयोगले कार्यकालको सुरुवात पनि राष्ट्रिय समन्वय परिषद स्पेन भ्रमण देखि नै भएकोमा खुसी ब्यक्त गर्नु भयो ।

परिवार पुनर्मिलनका सम्बन्धमा स्पेनमा बस्ने नेपाली समुदायले भोग्नुपरेको समस्याका बारेमा जानकार रहेको र समस्या समाधानको लागि पहल गर्ने पनि आचार्यले बताउनु भयो ।

कार्यक्रममा पूर्व युरोप क्षेत्रीय उप-संयोजक मुक्त बहादुर गुरुङ, पूर्व अध्यक्ष अनिल गुरुङ, आइसिसी सदस्य दिनेश गिरी, नेपाली जन सम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, एनपिपिएफका अध्यक्ष विशाल ढुंगाना, पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मी, नेपाली पाठशाला संचालीका सरला सापकोटाले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष आचार्यलाई एनआरएनएको अबको लक्ष्य तथा संस्थामा देखिएका विवादका विषयमा जिज्ञासा राख्नु भएको थियो । साथै अध्यक्ष आचार्यलाई बधाई तथा सम्मान पनि गरिएको थियो ।

कार्यक्रम संघका कार्यवाहक अध्यक्ष सोनु राउतको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका महासचिव विदुर गौतमले सञ्चालन गरेको कार्यक्रममा सचिव एन के भट्टराईले स्वागत गर्नु भएको थियो । 


प्रकाशित | ५ बैशाख २०७९, सोमबार १०:५१