गैर आवासीय नेपाली संघ केवल एक संस्था मात्र होइन, यो एउटा अभियान हो : कुमार पन्त (पूर्णपाठ)

कुमार पन्त- अध्यक्ष, गैर आवासीय नेपाली संघ

आज हामी गैरआवासीय नेपाली विश्व ज्ञान सीप सम्मेलनको दोस्रो संस्करणमा उपस्थित भएका छौँ । समृद्ध नेपालको सपना साकार पार्न विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको दिगो आर्थिक सामाजिक विकासका लागि सदुपयोग गर्ने उद्देश्यका साथ गरिएको यस भर्चुअल जमघटमा निकै उत्साहजनक सहभागिता छ ।

सम्माननीय प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न देशबाट पाल्नुभएका विज्ञ विशेषज्ञ लगायत यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ ।

आफ्नो अमूल्य समय दिएर यस पुनीत पहलमा सहभागी हुन पाल्नुभएकोमा यहाँहरूमा हार्दिक आभार पनि व्यक्त गर्दछु ।

यस सम्मेलनको पहिलो संस्करण गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त आयोजनामा दुई वर्षअघि हामीले काठमाडौँमा गरेका थियौँ । पहिलो संस्करणले हामीलाई सिक्ने र एउटा प्रतीकात्मक सन्देश सम्प्रेषण गर्ने मौका दियो । सहभागितादेखि विषयगत विविधताका दृष्टिले त्यो सम्मेलन पनि निकै उत्साहजनक भएको थियो ।

वास्तवमा यस कार्यक्रमको परिकल्पनाकै चरणदेखि सम्माननीय प्रधानमन्त्री जानकार हुनुहुन्छ र उहाँको सुरूवाती सोचकै जगमा यो विकसित भएको छ भन्दा फरक नपर्ला । यस मञ्चमा उहाँलाई प्रमुख अतिथिको रूपमा पाउँदा झनै खुसी लागेको छ ।

यसपटक विषम परिस्थितिका कारण भर्चुअल माध्यमबाट यो सम्मेलन गर्दै छौँ । २५ भन्दा बढी देशका करिब १०० वटा प्रतिष्ठित विश्वविद्यालय एवं अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताको यहाँ सहभागिता हुँदै छ । २०० वटा कार्यपत्र प्रस्तुत गरिने यस छलफलमा नेपाल सरकारका उच्च पदाधिकारीसहित स्वदेश तथा विदेशका विज्ञहरू हुनुहुन्छ । ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र छन् । निकै प्रतिकूल परिस्थितिका बाबजुद मातृभूमिको निम्ति केही गरौँ भन्ने जुन भावना, ऊर्जा एवं उत्साह देखिएको छ, त्यो ज्यादै खुसीको कुरा हो । यसले गैरआवासीय नेपाली अभियानलाई अघि बढाउन थप हौसला प्राप्त भएको छ ।

विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई एकीकृत र संगठित पार्दै मातृभूमिको हितमा अधिकाधिक परिचालन गर्नु नै गैरआवासीय नेपाली संघको मुख्य उद्देश्य हो । संघ स्थापनाका १७ वर्षमा विश्वका ८३ मुलुकमा शाखा विस्तार भएका छन् । अझै यो संस्था फक्रिँदो क्रममा छ । यसबीचमा हामीले स्वेदशको समृद्धिको निम्ति अरु पनि पहल र प्रयत्न गरेका छौँ ।

हामीले गरेका पहलहरूमध्ये आर्थिक लगानीको पक्षमा बढी जोड दिइयो । गैरआवासीय साथीहरू पनि व्यक्तिगत तवरले होस् या सामूहिक, आर्थिक लगानीमै केन्द्रित भएको पाइन्छ । यसरी लगानी गर्दा उत्साहजक प्रतिफल पनि पाउनुभएको छ । यो क्रम अझै बढाउनुपर्नेछ ।

तर आर्थिक लगानीको कुरा गरेर मात्र स्वदेशको समृद्धिको सपना साकार नहुने रहेछ । योसँगसँगै हामीले बाहिर हासिल गरेको ज्ञान, सीप र अनुभव पनि स्वदेशमा लगानी गर्नुपर्ने रहेछ । कतिपय ज्ञानसीप र अनुभव त पैसाले पनि प्राप्त नहुन सक्छ । किनभने गैरआवासीय नेपालीले गर्ने लगानी भनेको भावनासहितको लगानी हो, जुन अरु वैदेशिक लगानीमा नहुन सक्छ । स्वदेशको भाषा, संस्कृति र वातावरणसँग परिचित हुने, यहाँका आवश्यकता र प्राथमिकताबारे पनि जानकार रहने भएकाले पनि गैरआवासीय नेपालीको लगानी अरुकोभन्दा भिन्न, दीगो र प्रतिफलयुक्त हुन्छ ।
त्यसकारण विदेशमा हासिल गरेको विशेषज्ञताको स्वदेशमा उपयोग गर्ने वातावरणका लागि यो सम्मेलन उपयोगी र उपलब्धिमूलक हुने विश्वास छ ।

गैर आवासीय नेपाली संघ केवल एक संस्था मात्र होइन, यो एउटा अभियान हो । यस अभियानले स्वदेशको बृहत्तर हितका निम्ति केही सन्देशमूलक छाप छाड्ने गरी काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । यही मान्यताबाट हाम्रा हरेक प्रयास निर्देशित छन् र हुनुपर्छ । यो सम्मेलन पनि त्यसैतर्फको एक पाइला हो ।

अहिले कोरोना भाइरसको महामारीले पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम अनि नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा यो सम्मेलन केन्द्रित छ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनासँग हाम्रा आगामी कदम र कार्यक्रमलाई कसरी ताल मिलाउने भन्ने विषयमा पनि विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

नेपाल सरकार समेत सहआयोजक रहेको यस सम्मेलनमा काठमाडौँ विश्व विद्यालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको पनि महत्त्वपूर्ण साथ र सहभागिता रहेको छ ।

सम्मेलनका निष्कर्ष र भविष्यको रणनीति तयार गरी श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिनेछ, जुन मुलुकको नीति तथा कार्यक्रम निर्माण, कार्यान्वयन र स्रोत परिचालनमा सहयोगी हुने विश्वास गर्न सकिन्छ । सम्मेलनअन्तर्गतका सबै सत्रहरुमा सक्रिय सहभागिताका निम्ति सबैलाई सादर अनुरोध पनि गर्दछु ।

यहीँनिर एक भिन्न प्रसंग पनि जोड्न चाहन्छु ।

गत वर्ष काठमाडौंको हायात होटलमा भएको गैरआवासीय नेपाली संघको निर्वाचनमा घटेका घटनाबाट हामीलाई लञ्जाबोध भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई विश्व सम्मेलनमा उपस्थित हुने वातावरण बनाउन नसकेकोमा पनि पीडाबोध भएको छ । भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर हामीले रूपान्तरणको अभियान अघि सारेका छौं । संघको निर्वाचन र एनआरएन विश्व सम्मेलन हामीले एकै साथ नगर्ने निर्णय गरेका छौँ र यसपटक हामीले कार्यान्वयन पनि गरेका छौँ । नेपालका राजनीतिक दलहरुलाई संघको निर्वाचनमा चासो नराखेर संघको रूपान्तरण अभियानमा सहयोग गर्नुहुन अनुरोध गर्दछु । पाँच तारे होटलभन्दा बाहिर पनि गैरआवासीय नेपालीको सशक्त उपस्थिति छ भन्ने सन्देश यस सम्मेलनले दिने अपेक्षा हामीले गरेका छौँ ।

अन्त्यमा म फेरि पनि दोहोर्याउँछु- हाम्रो मूलभूत लक्ष्य स्वेदशकै समृद्धि हो र हुनुपर्छ । आफ्नो मातृदेशको परिचय बदल्न सके संसारभरका नेपालीको पहिचान बदलिनेछ । स्वदेशको समृद्धिसँग नै हाम्रो स्वाभिमान जोडिएको छ । यही मर्म वाक्यमा रहेर स्वदेशलाई हामीले के र कसरी योगदान गर्न सक्छौँ, नेपाल सरकार, नेपालका संस्थाहरु र निजी क्षेत्रसँग कसरी सहकार्य गर्न सक्छौँ ? यही विषयमा केन्द्रित रहेर सार्थक बहस गरौँ । उपाय खोजौँ र त्यसको कार्यान्वयनमा लागौँ । यति आग्रह गर्दै कार्यक्रम अघि बढाउन अनुरोध गर्छु । धन्यवाद ।

(अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली विश्व ज्ञान सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा व्यक्त गर्नुभएको मन्तव्य )


प्रकाशित | २३ आश्विन २०७७, शुक्रबार १९:२७