रोनाल्डोजस्ता च्याम्पियनसँग खेल्न पाउँदा खुसी छु : डिबाला

एजेन्सी : केही दिनअघि इटालियन क्लब युभेन्टसका पूर्वमिडफल्डर मार्को टार्डेल्लीले एक अन्तर्वार्तामा बताएका थिए कि, केही खेलाडी क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीसँग खेलिरहँदा पीडित भएका छन् । डिबाला तीमध्येका एक हुन् ।

मार्कोले युभेन्टसमा रोनाल्डो आइकन डिबालाको प्रदर्शन छायाँमा परेको तथा गोल संख्या काटिएको विषयमा संकेत गर्दै रोनाल्डोसँग डिबालाको नाफामूलक साझेदारी हुन नसकेको बताए । रोनाल्डोसँग मैदानमा रहँदा डिबालाले कमै मात्र गोल गर्ने गरेको उल्लेख गर्दै संयोगवश रोनाल्डोको समय र गोल संख्याको असर डिबालामा परेको बताएका थिए ।

तर, मार्कोले त्यसो भनेको २ दिनपछि डिबाला स्वयंले यसलाई नकारेका छन् । युभेन्टसका अर्जेन्टिनी फरवार्ड डिबालाले मार्कोको सो भनाइप्रति फरक मत राखेका छन् । डिबालाले यो बताएका छन् कि, युभेन्टसमा रोनाल्डोसँग खेलिरहँदा उनी खुसी छन् । र, कुनै समस्या छैन ।

मार्कोको भनाइको सन्दर्भ जोड्दै डिबालालाई एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा उनले भने, ‘रोनाल्डो एक च्याम्पियन खेलाडी हुन् । उनीजस्ता पूर्ण खेलाडीसँग खेल्न पाउँदा म ज्यादै खुसी छु ।’ डिबालाले रोनाल्डोबाट आफूले थुप्रै कुरा सिकिरहेको पनि बताए । ‘उनीसँग अनुभव छ । जितको मानसिकता छ । उनको रहेको टिमको म पनि हिस्सेदार छु । उनीबाट मैले थुप्रै कुरा सिकिरहको छु,’ डिबालले भने, ‘उनी यस्ता खेलाडी हुन्, जसले टिममा सधैं कठिन कुरालाई सहज बनाइरहेका हुन्छन् । वास्तवमै उनी एक उत्कृष्ट खेलाडी हुन् । म उनीसँग खेल्दा एकदमै रमाइरहको हुन्छु ।’

डिबाला अर्जेन्टिनी टोलीबाट स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीसँग खेल्छन् । डिबाला यतिबेला राष्ट्रिय टिमबाट मेस्सी र क्लबबाट रोनाल्डोसँग एकसाथ खेलिरहेका छन् । रोनाल्डो र मेस्सी विश्व फुटबलमा जति सफल मानिन्छन्, आपसमा उत्तिकै प्रतिस्पर्धी खेलाडी पनि हुन् ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार २१:११