साउदीमा अलपत्र २ सय भन्दा बढी नेपाली उद्धारको पर्खाइमा

साउदी – साउदीमा अलपत्र २ सय भन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् । विभिन्न समयमा साउदी अरब पुगेका पीडितहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

काठमाडौँको सिनामंगलस्थित ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत विगत दुई महिनाअघि गएका १ सय ३० नेपाली युवा उद्धारको पर्खाइमा रहेको र आफूसहित ५ जनालाई जेद्धामा लगेर अलपत्र पारेको शेख नुरमहमदले बताउनुभयो ।

काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका ४० भन्दा बढी नेपाली युवा पनि उद्धारको पर्खाइमा छन् ।

म्यानपावरलाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले तीन महिनादेखि काम नदिएपछि कोठामै अलपत्र परेको पीडित हिरालाल स्याङ्तानले बताउनुभयो ।

म्यानपावरले पटक-पटक काम दिलाई दिने भन्दै झुक्काउने गरेको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनीले भने अनुसारको काम दिलाउन नसक्दा अलपत्र परेका छन् ।


प्रकाशित | ४ बैशाख २०७९, आईतवार १०:५३