पेलेद्वारा मेस्सीलाई ६०० गोलको बधाई, पठाए यस्तो सन्देश !

एजेन्सी : ब्राजिलका लिजेन्ड फुटबलर पेलेले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई बधाई दिएका छन् । २ दिनअघि मेस्सीले क्लब बार्सिलोनाका लागि करिअरको ६००औं गोल पूरा गरेपछि पेलेले उनलाई बधाई ज्ञापन गरेका हुन् ।

२ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनाले इंग्लिस टोली लिभरपुललाई आफ्नो घरमा ३–० ले हराउँदा कप्तान मेस्सीले २ गोल गरेका थिए । त्यसमा उनले १ गोल फ्रि किकबाट गरेका थिए ।

पेलेले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘६०० गोलका लागि म लिओनल मेस्सीलाई बधाई दिन चाहन्छु । यी गोलको यात्रा क्या शानदार रहयो १’ केही समयअघि पेलेले एक अन्तर्वार्तामा बोल्दै मेस्सीसँग एक खुट्टाले मात्रै बल हान्ने क्षमता रहेको भन्दै उनले टाउकोले गोल गर्न नसक्ने भनेर टिप्पणी गरेका थिए ।

मेस्सी निकट भविष्यमै पेलेको एक क्लबका लागि सर्वाधिक बढी गोलको कीर्तिमान नजिक छन् । पेलेले आफ्नो करिअर दौरान ब्राजिलियन क्लब सान्तोषका लागि ६४३ गोल गरेका थिए । हालको अवस्थामा मेस्सी पेलेको सो ऐतिहासिक कीर्तिमानभन्दा मात्रै ४३ गोलले पछि छन् । सम्भवतः मेस्सीले आगामी सिजनभरिमा पेलेको सो रेकर्ड भंग गर्ने सम्भावना छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार २०:५२