दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यले आगामी योजना तयार गर्नुपर्छ : मन्त्री मगर

काठमाडौं : खानेपानी मन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यले आगामी योजना तयार गर्नुपर्ने बताउनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई आज सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको हो ।

उहाँले खानेपानी र सरसफाइ जस्ता विषय जनताका मौलिक अधिकारका विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औँल्याउनुभयो । मन्त्री मगरले भन्नुभयो, “मन्त्रालयको यो दोस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पूरा गर्न धेरै सङ्घर्ष गर्नुपर्नेछ ।

सबै जनतालाई सुरक्षित खानेपानीको पहुँच पु¥याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।” बजेटमा निर्धारित योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउनसमेत मन्त्री मगरले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्रालयको हालसम्मको भौतिक प्रगति करीब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार २१:००