विराटनगर विमानस्थल विस्तार गरिने

विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै सबैभन्दा पहिले टर्मिनल भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नयाँ टर्मिनल भवनको डिजाइन तयार भइसकेको छ । त्यसको पूर्वमूल्याङ्कनका लागि सूचनासमेत प्रकाशित भइसकेको छ । तीन अर्ब लागतमा साबिक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन डोमेस्ट्रिकसँगै अन्तर्राष्ट्रिय उडान सुरु हुँदा प्रयोगमा ल्याउन सक्नेगरी डिजाइन तयार पारिएको अधिकारीले जानकारी दिनुभयो ।
इन्जिनियर अधिकारीका अनुसार १६ हजार २७७.८२८ वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको भुइँ तला आठ हजार ९७५.६९ वर्गमिटरको हुनेछ । त्यसमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, मिडिया कन्फ्रेन्स हल, तीनवटा भीआईपी कक्ष र बालउद्यान, मातृशिशु कक्षसहितको सुविधा सम्पन्न हुनेछ ।
सरकारले गत कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै प्रारम्भिक रूपमा काम अगाडि बढिसकेको छ । प्राधिकरणले १० वर्ष भित्रमा विराटनगर विमानस्थललाई दुई हजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गाबाहेक १३ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ । यसैगरी २०२४–२०२६ मा वास्ता
(पानी ढलो) तीन किलोमिटर डाइभर्सन र एप्रोज लाइट व्यवस्थापनलगायतका लागि दुई अर्ब खर्चिने अनुमान गरिएको छ । २०२७–२०३० मा सात अर्ब बराबरको थप संरचना निर्माण गरिने योजना रहेको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विमानस्थल विस्तारका लागि भए÷गरिएका प्रारम्भिक कामको विवरण शुक्रबार प्राधिकरणका अधिकारीसँग बुझ्नुभएको थियो । त्यस क्रममा विराटनगर विमानस्थलका प्रमुख उत्सवप्रसाद खरेलले नापी कार्यालय मोरङले बिहीबार मात्रै जग्गाको कित्ता नम्बर उपलब्ध गराएको जानकारी दिनुभयो । जग्गा अधिग्रहणका लागि मोरङतर्फको बाउन्ड्री सर्भे अन्तिम चरणमा पुगेको र सुनसरीतर्फको काम भइरहेको उहाँले विभागीय मन्त्री ढकाललाई जानकारी गराउनुभएको हो ।
साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको प्रमुख खरेलले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय हवाई उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्नका लागि विमानस्थलको रन–वे स्ट्रिप १४० मिटर आवश्यक पर्नेछ । त्यसबाहेक १४.३ प्रतिशत स्लोपका लागि २५ मिटर खाली जग्गा हुनुपर्ने इन्जिनियर नलविक्रम थापाले जानकारी दिनुभयो । हालको विमानस्थलमा ९५ देखि १४० मिटरसम्मको रन–वे स्ट्रिप रहेकाले त्यसलाई तत्काल बढाउनका लागि विमानस्थलको पूर्वतर्फको
भागबाट उत्तर–दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।
पश्चिम क्षेत्रमा विमानस्थलको एप्रोज लाइट भएका कारण तत्काल विस्तार गर्न नसकिने भएकाले यसलाई दोस्रो चरणका लागि राखिएको छ । मन्त्री ढकालले आवश्यक पर्ने सबै प्रक्रिया दु्रत गतिमा गर्न निर्देशन दिनुभएको थियो ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि केन्द्रीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको ४० प्रतिशत र स्थानीय सरकार विराटनगर महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी अवधारणा छ । रन–वेलाई तीन हजार मिटरमा विस्तारका लागि विराटनगर महानगरपालिका र सुनसरीको बर्जु गाउँपालिका–३ र ६ को १२६.४६ बिघा जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ ।


प्रकाशित | २५ पुष २०७७, शनिबार ०८:२०