आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं –आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार थप २३.३२ अंकले घट्दै २४ सय २८.७५ अंकमा झरेको हो । यस्तो सूचक अघिल्लो दिन अधिकतम ४६,४६ अंकले घटेर २४ सय ५२.०६ अंकमा झरेको थियो ।

यस दिन होटल तथा पर्यटन, अदर्श र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ट्रेडिङ समूहको उपसूचक सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ भने फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक समान १.६२ प्रतिशतले घटेको छ ।

यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.१८ प्रतिशतले, बैंकिङ समूह १.०६ प्रतिशतले र माइक्रो फाइनान्स समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । २३ अंक माथिले घटेको बजारमा आज २ अर्ब रुपैयाँको पनि सेयर कारोबार हुन सकेन ।

नेप्सेका अनुसार ४३ लाख ७२ हजार कित्ता माथिको सेयर कारोबार हुँदा आज १ अर्ब ९९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ४६ अंकमाथिले घटेको बजारमा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज नेष्ठो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् ।


प्रकाशित | २३ चैत्र २०७८, बुधबार १७:०४