एनसिसी अध्यक्षलाई सम्बन्धित देशको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव

काठमाडौं : गैर आवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद् (एनसिसी ) अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव दिएको छ ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले संग भेटघाट गर्दै सबै एनसिसिका अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न सुझाव दिनु भएको हो ।

साथै भेटमा संघका तर्फबाट ५ बुँदे मागपत्र पनि बुझाइएको छ । ज्ञापनपत्रमा नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर संसदबाट छिट्टै पारित गरिदिन, वैदेशिक रोजगार सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिन, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक बृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन, कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा व्यवधान हटाइदिन र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नको लागि सहजीकरण गरिदिन माग गरिएको हो ।

उठाएका मागहरु प्रति मन्त्री आलेले मन्त्रालय एकदमै सकारात्मक रहेको बताउनु भयो । डा. बद्री केसीले सबै एनसिसिका अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न दिनु भएको सुझावलाई मन्त्री आलेले हाललाई केही मुलुकहरुमा यसको पहल गरिने अवगत गराउनु भयो ।

साथै उहाँले सुविधा सम्पन्न बृद्धाश्रमको लागि पशुपति क्षेत्रमा जग्गा उपलब्ध गर्नको लागि पहल गरिदिने पनि बताउनु भयो ।

परराष्ट्र मन्त्रालयका एनआरएन डेक्स प्रमुख रेग्मी संग भेट

संघका कार्यकारी अध्यक्ष तथा अध्यक्षहरुको नेतृत्वमा गएका एक प्रतिनिधि मण्डले परराष्ट्र मन्त्रालयका सहसचिव तथा एनआरएन डेस्का प्रमुख भरत रेग्मी संग भेट गरेको छ । सो अवसरमा कार्यकारी अध्यक्ष कुल आचार्यले मन्त्रालयबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय र संघ बीच भएका असमझदारी समाप्त भएको बताउनु भयो ।

अध्यक्ष रविना थापाले संघसंग आवद्धभएको विध्ययार्थीहरुको व्यवस्थापन गर्न पर्ने बताउनु भयो । अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नियमावलीको धारा १६ मा उल्लेख भए अनुसार संघको अनुगमन गर्ने अधिकार मन्त्रालयलाई दिएकोमा यसको कार्यविधि बनाई अनुगमन गर्न पर्ने बिचार व्यक्त गर्नु भयो ।

सो अवसरमा निवर्तमान अध्यक्ष कुमार पन्तले मन्त्रालय संग केहि विमत्ति रहेता पनि यसलाई समाधान गरी संघ अगाडी बढ्न तयार रहेको अवगत गराउनु भयो ।

सहसचिव भरत रेग्मी संघले १०औं महाधिवेशन र विश्व सम्मेलन सफलतापूर्वक सम्मपन्न गरेकोमा वधाई दिंदै नवनिर्वाचित समितिलाई सफलताको कामना दिनु भयो ।

उहाँले संघले राष्ट्रलाई पुर्याउदै आएको योगदानको कदर गर्दै आगामी दिनहरुमा यसलाई अझ प्रभावकारी र परिमाणमूखी बनाउन अनूरोध गर्नु भयो ।

उहाँले संघ र मन्त्रालय बिचको सम्बन्धलाई अझ मजवूत वनाई संघसंग सम्बन्धित सम्पूर्ण कार्यहरु मन्त्रालयले नै गर्ने वातावरण बनाउन पर्ने सुझाव दिनु भयो । सो भेटको अवसरमा संघका उपाध्यक्ष द्वय डा. हेम राज शर्मा र गोविन्द श्रेष्ठको सहभागिता रहेको थियो ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार २०:३४