सेसेल्समा रहेका नेपालीहरुको समस्या समाधानका लागि सक्दो पहल गर्नेछु: श्रम मन्त्री श्रेष्ठ

माहे आइल्याण्ड – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरीय भ्रमण गर्नु भएको छ ।

यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीन दिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको दुइपक्षीय सम्बन्ध, श्रम सम्झौता र नेपाली श्रमिकहरुको हक हितका सम्बन्धमा यहाँका सरोकारवाला निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग व्यापक छलफल भएको थियो ।

भ्रमणको अन्तिम दिन गैर आवासीय नेपाली संघ सेसेल्सले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बिदेशमा श्रम गरेर अर्थतन्त्र धान्ने नेपालीहरुको हक,हित र सुरक्षाको लागि सरकार प्रतिबद्द रहेको धारणा राख्नु भयो ।

उहाँले यहाँ कार्यरत नेपालीहरुको लागि स्थानिय सो सरह तलब सुबिधा र सेवाको लागि पहल गर्ने, श्रम सम्झौताको लागि पहल गर्ने र सेसेल्समा अन्य पनि थुप्रै क्षेत्रमा रोजगारीको वातावरण सिर्जना गर्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने वचनबद्धता ब्यक्त गर्नु भयो ।

अबैधानिक तवरले अनावश्यक र अत्याधिक रकम असुलेर नेपालीलाई नेपालीले ठगी गर्ने गरेको दुखद समाचार सुन्नमा आएकोमा मन्त्रीले खेद व्यक्त गर्दै आइन्दा त्यस्तो हुन नदिने आश्वाशन पनि दिनु भयो ।

उहाँले अबदेखि कुनै पनि समस्या भए एनआरएनए मार्फत आधिकारिक रुपमा गुनासो लिएर श्रम मन्त्रालय आए सक्दो सहयोग गर्न सदैव तयार रहेको बताउनु भयो ।

भ्रमण दलमा रहेका श्रम सचिव एकनारायण अर्याल, सह-सचिव राजिव पोख्रेल, डा. थानेश्वर भुसाल र नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदुत नरेश दास को पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

मन्तव्यका क्रममा बोल्दै सचिव अर्याल र वाणिज्यदूत दासले पनि सेसेल्समा रहेका नेपालीहरुको हक, हित र समस्याका बारेमा सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्दता जनाउनु भएको थियो ।

सेसेल्सको माहे आइल्याण्डस्थित रोचे प्रशासनिक भवनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थितिमा भएको थियो।

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन साहित्यकार तथा संस्थाका सल्लाहकार गणेश खड्काले गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए सेसेल्स महिला उपाध्यक्ष खेसेना लिम्बुले स्वागत गर्नु भएको थियो भने संस्थापक अध्यक्ष आर पी पन्तले संस्थाको स्थापना र उपादेयतामाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम अवधिमा साहित्यकार गणेश खड्काले कविता सुनाउँदा उपस्थित सबैमा एकाग्रता छाएको थियो। कार्यक्रमको अर्को आकर्षण खड्काकै शब्द रचनामा घरदेश र परदेशको कथा समेटिएको गीतको अडियो सार्वजनिक मन्त्रीले गर्नु भएको थियो । उक्त गीतको भिडियो पनि चाँडै बजारमा आउने पनि जनाइएको थियो। सिसेल्समा हाल २ हजारभन्दा धेरै नेपाली कार्यरत छन् ।


प्रकाशित | ७ चैत्र २०७८, सोमबार ०९:४८