दिपक खरेलको कोरोना महामारीबारे स्पेन अनुभव र नेपालीलाई सन्देश

कृपया ! कम्तिमा अझै दुई हप्ता घरभित्रै बस्नुहोला नत्र स्पेनको अवस्था त्यहाँ पनि नआउँला भन्न सकिन्न । हो, केहि दिन, केहि हप्तासम्म बानी नपर्दा केहि अप्ठ्यारो अनुभव हुने गरे पनि हप्ता दस दिनपछि आफै बानी पर्ने रहेछ । जबकी स्पेनमा १४ दिन डक डाउनमा आइपुग्दाको मेरो अनुभव पनि त्यही रह्यो ।

दिपक खरेल 

कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइहेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको देखिन्न । नेपालमा चार दिन देखि लक डाउन भएजस्तै स्पेन पनि विगत १४ दिनदेखि लक डाउन छ। लक डाउनले गर्दा दुई हप्तादेखि घरभित्र परिवारसँगै बसेका छौ । यहाँका नेपाली नेपालीबीच ग्रुपमा कुराकानी हुन्छ। के हुने भनेर सबै चिन्तित छन्, त्रसित छन्। एक त यहाँ कोरोनाको त्रास छ, अर्को चाहिँ नेपालमा रहेका आफन्त सम्झिएर पनि यहाँका नेपाली थप चिन्तित बन्ने गरेका छन्।

स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।  बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

म स्पेनको बार्सिलोनामा बसेको १७ वर्ष भइसकेको छ। यस्तो खालको महामारी अनि मानवीय सङ्‍कट कहिल्यै महसुस भएको थिएनँ। लाग्छ, यो त इतिहासकै चरम सङ्‍कट हो। यसअघि पनि कुनै नेपालीलाई अप्ठ्यारो पर्दा मैले सहयोग गर्दै आएको छु। अहिले पनि कसैलाई केही गाह्रो/साह्रो पर्‍यो भने सम्झिनुहोस् भनी आग्रह गरिरहेको छु। अप्ठ्यारो परेको बेला नेपालीलाई सहयोग गर्न सबै तयार छौं। यहाँको राम्ला भन्ने ठाउँबाट दैनिक एक लाख मानिस आउजाउ गर्थे। अहिले हेर्छु, सुनसान मसानघाट जस्तै छ। एकाधबाहेक कोही मानिस त्यहाँ देखिँदैनन्। हरेक दिन जब स्पेनमा कोरोनाबाट मृत्यु भएका मानिसको सङ्ख्या बढ्छ, मानिसहरु थप भयभीत हुने गरेका छन् ।

यहाँको म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ। ७० वर्षभन्दा बढी उमेर समूहका मानिसको बढी मृत्यु भएको छ। त्यही भएर स्थानीय बुढापाकाहरू मरिन्छ कि क्या भनेर बढी चिन्तित छन्। त्यसो त कतिपय युवामा पनि यसको सङ्‍क्रमण देखिएको छ।
स्पेनको म्याड्रिड, बार्सिलोनालगायत विभिन्न स्थानमा करिब ५ हजार नेपाली बस्छन्। सबै नेपाली घरमै सुरक्षित साथ बसेका छन्। स्पेनको म्याड्रिडमा रहेको नेपाली दूतावासले यहाँका सबै नेपाली समुदायलाई कोरोना भाइरस (कोभिड१९) को सङ्‍क्रमणबाट जोगिन आग्रह गर्दै सतर्कताका उपाय अपनाउन आग्रह गरिरहेको छ ।

कोरोना भाइरसले स्पेनको हालत दिनहुँ खराब हुँदै गएको छ। तैपनि, हामीले आशा गरेका छौं, चाँडै यो अवस्थाबाट पार पाउनेछौं। सबैको कामना यही छ। स्पेनको दुई हप्ताअघिको अवस्था नेपालले भर्खरै भोग्दैछ । लक डाउनले यहाँ पनि अत्यावश्यक काम बाहेक कोही पनि घरबाहिर निस्किएका छैनन्। घरबाहिर निस्कनु नै पर्यो भनी पनि विशेष सावधानी अपनाएर मात्र बाहिर निस्कन्छन्, त्यो पनि मानीसहरु फाट्टफुट्ट मात्र निस्कने गरेका छन । औषधि किन्नुपर्दा अनि आवश्यकीय सामान किन्नुपर्दा मात्र मानिस बाहिर निस्केको पाइन्छ ।

नेपाल जस्तै यातायातका साधन पनि ठप्प भएका छन्। अस्पतालका साधन अनि अति आवश्यकीय सामान ढुवानी गर्ने सवारी मात्र चल्छन्। जसले गर्दा समग्र मानिसको मनस्थिति आतङ्‍कित छ। यस्तो बेलामा सबै जना कसरी सुरक्षित रहने भन्नेमै केन्द्रित छन्। मानिसले सोच्न थालेका छन्, जति सम्पन्नता भए पनि आखिर महामारीका सामु कसैको केही नलाग्ने रहेछ। यसबाट बस्न सबैले अधिकतम सावधानी अपनाएका छन्।

नेपालमा सरकारले बेलैमा बुद्धि पुर्याएर कोरोना भाइरस संक्रमण फैलन नदिन पूर्वतयारी गरेको छ त्यो स्वागतयोग्य छ । तर एक हप्ता मात्र लक डाउन गरेर पुग्दैन कि जस्तो लाग्छ । किनकी कोरोना भाइरसको लक्षण दुई हप्तासम्म देखिने भएकाले नेपालमा अझै केहि साता डक डाउन गर्नुपर्ने देख्छु । स्पेन विकसित मूलुक हुँदा पनि यहाँको अवस्था कहालीलाग्दो छ । त्यसैले यतिखेर कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको घरभित्रै बस्ने हो । आफू पनि सुरक्षीत हुने र घरपरिवार,समाज र देशका जनता सबैलाई सुरक्षीत राख्ने हो ।

वास्तावमै भन्नुपर्दा प्रजातान्त्रिक मुलुकका जनताहरु धेरै स्वतन्त्रता खोज्ने गर्छन । यहाँ पनि चाहिनेभन्दा बढी स्वतन्त्रता खोज्दा लापरवाही र हेलचेक्रयाईले गर्दा नै फैलिएको हो । सरकारले जतिसुकै कडा नियम बनाउँदा पनि जनता अनुसाशीत भएनन र नियमको पालना गरेनन भने यस्तै अवस्था आउने रहेछ । म एक विकसित मुलुकमा बसिरहे पनि भाइरसले कुनै जात, धर्म., क्षेत्र, धनी, गरिव भन्ने गर्दैन । यहाँ स्रोत र साधनको हिसावले उपलब्धता भए पनि समस्या संसारभरको एउटै हो । त्यसैले आम नेपाली समुदायमा मेरो के सुझाव छ भने कृपया कम्तिमा अझै दुई हप्ता घरभित्रै बस्नुहोला नत्र स्पेनको अवस्था त्यहाँ पनि नआउँला भन्न सकिन्न ।  यदी तपाईले यसलाई सामान्य ढंगले हेर्नु भयो भने त्यसले विकराल रुप लिन सक्छ ।

नेपालमा केहि ब्यक्ती जो विदेशबाट आएका छन् उनीहरुलाई देखिए पनि अरुमा फैलन नदिनको लागि घरभित्रै बस्नुको विकल्प छैन । तपाई मान्नुस कि स्पेनमा संक्रमीत भएको ५ प्रतिशत जनतामा यो भाइरस फैलियो भने पनि त्यहाँको अवस्था विकराल हुने देखिन्छ । किनकी स्पेनले वार्षिक बजेटको २० प्रतिशत भन्दा बढी खर्च गरेर अर्थतन्त्र बिग्रन नदिन विभिन्न पहलकदमी गर्दा पनी नियन्त्रणमा आउँन सकेको छैन झन बढ्दो क्रममा छ भने नेपालको अवस्था के होला ? कल्पना पनि गर्न सकिन्न । जबकी नेपालको अर्थतन्त्रको खम्बा मानीएको रेमिट्यान्स यतिबेला ठप्प्प छ । मलेसियासहित खाडी क्षेत्रमा रहेका नेपाली श्रमीक यतीबेला बेरोजगार छन् । रेमिट्यान्स ठप्प त छदै छ खाडी मुलुकमा आगामी दिनमा यो भाइरस फैलदै गयो भने कस्तो अवस्था आउँला ? त्यसैले अहिलेको लागि घरभित्रै बस्नु नै सबैभन्दा उत्तम उपाय हो जस्तो लाग्छ ।

हो, केहि दिन केहि हप्तासम्म बानी नपर्दा केहि अप्ठ्यारो अनुभव हुने गरे पनि हप्ता दस दिनपछि आफै बानी पर्ने रहेछ । जबकी स्पेनमा १४ दिन डक डाउनमा आइपुग्दाको मेरो अनुभव पनि त्यही रह्यो । यो बेलामा बरु एक छाक नखाएर भए पनि घरमा जे छ मिठो मसिनो खाएर भए पनि आफुलाई बचाउनु र अरुलाई पनि बचाउन सहयोग गर्नुपर्छ । संसारको जुन कुनामा बसे पनि मन भने नेपालमै हुने रहेछ । त्यसैले अन्तिममा पुन: अनुरोध गर्न चाहान्छु , कृपया घरभित्रै बस्नुहोला, आफू पनि बच्नुहोला र अरुलाई पनि बचाउन सहयोग गर्नुहोला । धन्यवाद ।


प्रकाशित | १४ चैत्र २०७६, शुक्रबार १६:००