विदेशबाट नेपाल आउँदा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं– स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड- १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण सम्बन्धी मापदण्ड निर्धारण गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड -१९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनु भयो ।

केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षण (आरटी पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले डेस्कहरुमा परीक्षण गर्नुपर्ने भएको हो । 

त्यस्तै, पूर्ण खोप प्राप्त गरेको वा ७२ घण्टा भित्रको कोभिड १९ को परीक्षण (आरटी-पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट भएता पनि कोभिड-१९ संक्रमणको लक्षण भएका यात्रीहरुले पनि डेस्कहरुमा परीक्षण गर्नुपर्नेछ।

यसैगरी, पूर्ण खोप प्राप्त नगरेका ५ वर्ष माथिका बालबालिकाहरु वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षणको नेगेटिभ रिपोर्ट नभएका अथवा दुईमध्ये कुनै एउटा भएपनि कोभिड-१९ सँग मिल्दा जुल्दा लक्षणहरु देखिए उनीहरुको पनि परीक्षण गर्नुपर्ने जनाइएको छ ।

केन्द्रले सीमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सकरस्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड-१९ तथा अन्य संक्रामक रोगहरुको स्क्रिनिङका लागि यात्रुको कोभिड १९ को परीक्षण  (र्‍यापिड एन्टिजेन टेस्ट) लगायत अन्य संक्रामक रोगहरुको समेत परीक्षण गर्न सक्ने जनाएको छ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १५:४१